१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला
अ अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।

ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन् । महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा धूप बनाउने सीप प्रदान गरिएको यान्चोक आमा समूहका अध्यक्ष सुनिता आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गत तिहारलाई लक्षित गरी हामीले सयपत्री फूलखेती गर्‍यौँ, त्यतिबेला बिक्री नभएको फूलको प्रयोग गरी धूप बनाउने सीप सिकाइएको हो, यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।”

ती दुई आमा समूहले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । तिहार र त्यसपछि गाउँपालिकाका विभिन्न कार्यक्रममा गरी रु तीन लाखको सयपत्री फूल बिक्री भएको थियो । बाँकी रहेका फूललाई सदुपयोग गर्न धूप बनाउने सीप सिकाइएको उहाँको भनाइ छ । उहाँका अनुसार सयपत्री फूल सुकाएर, काउला र धुपीको धुलो मिसाएर सिन्के धूप बनाउन सकिन्छ । त्यस्तै अङ्गारमा सयपत्रीको फूलको धुलो मिसाएर पनि धूप बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “हामीले तालिममा एक किलो काउलाको धुलो, एक किलो धुपीको धुलो राखेर सिन्की धुप बनाउन सिक्यौँ, सीप सिकेपछि अबलाई व्यावसायिक बनाउनेतर्फ अगाडि बढ्छौँ ।”

आँधीमूल आमा समूहका अध्यक्ष ललिता मगरले बाहिरबाट ल्याइएका धूप खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्रीको फूलको प्रयोग गरेर धूप बनाउन सकिने रहेछ भन्ने थाहा थिएन, गाउँपालिकाले यसका लागि तालिम दिएपछि हामी उत्साहित छौँ ।” सयपत्री फूलखेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रुपमा प्रयोग गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहार अगाडि फूलखेती सुरु गरिएको थियो ।

प्रशिक्षक सुस्मिता थापाले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ, यसलाई अब आयआर्जनसँग जोड्न सकिनेछ ।”

महिलालाई आयआर्जनमा जोड्न धूप बनाउने सीपमूलक तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । स्थानीय उत्पादन प्रयोग गरी धूप बनाउन सकिने जनाउँदै उहाँले धूप बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सघाउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याई स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।”

सबै महिला समूहले उद्यम गर्नुपर्छ भन्ने लक्ष्य राखी गाउँपालिकाले सीप सिकाउन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । गाउँपालिकाका छ वडामा एक सय आमा समूह रहेकामा सबै महिला समूहलाई सीप सिकाउन सकिए गाउँपालिका आत्मनिर्भर बन्नसक्ने उहाँले बताउनुभयो । त्यस्ता सामग्री बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले उत्पादन गरिएका धूप फागुपूर्णिमामा छिम्केश्वरीमा ठूलो मेला लाग्ने र सोही मेलामा बिक्री गर्न सकिन्छ, त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” रासस