• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन

घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो



ढोरपाटन । “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो”, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाउनुभयो ।
उहाँका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । “रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले  सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ”, उहाँले भन्नुभयो, “पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।”
घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उहाँ अन्य घाइतेहरुसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत हुनुहुन्छ । आकस्मिक कक्षमा केही घाइतेहरु पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरुको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौँका लागि गाडी चढेको बताउनुभयो । उहाँले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाउनुभयो ।
“केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो”, उहाँले भन्नुभयो । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उहाँले सुनाउनुभयो ।  “केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ ।”
उहाँसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि  रातिनै बागलुङ ल्याएको थियो । उहाँका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ ।
दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहनुभएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उहाँ पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउनुभयो ।
“म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिए । तर ढोका खोल्न नपाउँदै बस खस्यो”, उहाँले सुनाउनुभयो । उहाँले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताउनुभयो । “म होसमा आउँदा शरीर रुखले च्यापिको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला”, उहाँले भन्नुभयो । उहाँका अनुसार होस्मा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइतेहरु चिच्चाइरहेका थिए ।
दुर्घटनामा परी घाइते भएकाहरुले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उहाँको भनाइ छ । पोखरा पठाइएका घाइतेहरुको अवस्था भने गम्भीर रहेको भण्डारीले बताउनुभयो ।
बागमती प्रदेश ०१-००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट(१ का २७ वर्षिया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका(४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
बस सडकदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी सोमबार रातिनै रुकुम पठाइएको उहाँको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बसमा ३७ जना यात्रु सवार थिए । रासस