५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर पुगी बिहे गर्नेलाई रु ५० हजार



सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गर्नुभएको हो ।

“ छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ”, नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।” यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पार्नुभयो ।

नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताउनुभयो । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ ।

अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बीमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।

नगरप्रमूख क्षत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जनाइएको छ । बीमितले तीन वर्षपछि भवितव्य पर्दा रु एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताउनुभयो । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गर्नुभयो ।

मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताउनुभयो । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो । रासस