• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु



चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो ।

उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उहाँले बताउनुभयो । उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।

निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।

गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । गैँडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो ।