• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु



चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो ।

उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उहाँले बताउनुभयो । उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् ।

निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।

गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । गैँडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन् ।

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो ।