१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै



अ+ अ-

गलेश्वर । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् ।

ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुन थालेका पाको पुस्ताका ज्येष्ठ नागरिकको भनाइ छ ।

बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका मालिका गाउँपालिका–६ का ७४ वर्षीय टीकाजित पुनले बताउनुभयो ।

एकताका तेल र घीउमा आत्मनिर्भर मानिने म्याग्दीको पश्चिमी क्षेत्रमा अहिले तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । “पहिला जिल्लामा प्रशस्त मात्रामा उखु, तोरी र अमिलोखेती गरिन्थ्यो, जङ्गलमा प्रशस्तै चिउरी फल्थ्यो, चिउरी पेलेर पनि तेल निकालिन्थ्यो”, पुनले भन्नुभयो, “अहिले त मान्छेले तेलबाली पनि लगाउन छाडे, कोल हराइनै सके ।”

उहाँका अनुसार हिउँदयामका दिन फुर्सदिला हुने भएकाले कोलमा प्रत्येक परिवारले उखु र तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको उहाँ बताउनुहुन्छ । “अलिअलि बेचेका कोल पनि प्रयोगविहीन छन्”, मङ्गला गाउँपालिका–२ का ७९ वर्षीय भीमबहादुर सेनले बताउनुभयो ।

जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले उखु र अमिलो पेल्ने कोल हराउँदै गएका उहाँको बुझाइ छ । उहाँका अनुसार कोल प्राय: सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो । विगतमा जिल्लाभरि सयौँको सङ्ख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका उहाँ बताउनुहुन्छ ।

दुर्गम गाउँमा रहेका एक/दुई कोल पनि विस्तारै प्रयोगविहीन छन् । कोल लोप भएसँगै जिल्लामा तेलहन बालीको खेती लगाउनेको सङ्ख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएका ज्येष्ठ नागरिकको भनाइ छ ।

धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हँुदै गएका बेनी नगरपालिका–४ का भक्तिराम पौडेलले बताउनुभयो । “ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन्”, उहाँले भन्नुभयो, “पानीबाट चल्ने पानीघट्ट पनि विस्थापित भइसकेका छन् ।”

कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिक्की, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । ब्याट्री र विद्युत्बाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको स्थानीय डेकबहादुर सिउथानीले बताउनुभयो ।

जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उहाँको भनाइ छ । पुर्खाले प्रयोग गर्दै आएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको सिउथानीले बताउनुभयो । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातीत मेसिनबाट गाउँ भरिने पुराना पुस्ताको चिन्ता छ । रासस