१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक र पौष्टिक महत्वको जौँ बाली लोप हुँदै



अ+ अ-

गलेश्वर । धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने  कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिककार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताउनुभयो । त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।”

मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जाँैको सातु बनाएर खाने गरेको उहाँले बताउनुभयो । मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताउनुभयो ।

म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जाँैले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन् ।

बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।