१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग
अ अ+ अ-

फुङ्लिङ । पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरुले माग गरेका हुन् ।

आज ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका छन् ।

“ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रुपमा रहेको यस शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरुबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविधितै छ”, विज्ञप्तिमा भनिएको छ, “विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्षरुपमा अनुभूत गरेका छौँ । अहिले सो क्षेत्रमा बर्सेनि करिब तीन लाख भक्तजन आउने गरेका छन् ।”

निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरुको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ । ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारीलगायतका विभिन्न अवसर सिर्जना हुनेछ यहाँका निजी क्षेत्रको भनाइ छ ।

केबुलकारमार्फत जिल्लामा लगानी भित्रने उल्लेख गर्दै निजी क्षेत्रले अर्बौं रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाथीभरा मुकुमलुङ केबलकारमार्फत जिल्लाको आर्थिक विकासमा ठूलो योगदान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

केबलकारबाट स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना हुने, जिल्लाको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

यस्ता गौरवका योजनामा सबैपक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्तिसुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादका माध्यमबाट राज्यकोतर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा छ ।

निजी क्षेत्रले पाथीभरामा केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा इँटा थप्न जिल्लाका प्रतिनिधिमूलक संस्थाहरुका तर्फबाट अपिल गरेको छ ।

यसअघि ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा वार्ता गरी सहजीकरण गर्न एक समिति गठन भएको थियो । उहाँले यस आयोजनाबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने जोड दिँदै आउनुभएको छ ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण  जिल्लावासीको हितमा रहेको बताउनुभएको छ । उहाँले मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधार निर्माण भइरहेकाले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा सहयोग गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ ।

केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

केबलकार निर्माणपछि विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै भारतका पश्चिम बङ्गाल, दिल्ली र विहारलगायत क्षेत्रबाट पर्यटक भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस