२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छान



अ+ अ-

दमौली । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका–७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सकिएपछि चन्दा दातालाई सम्मान गरिएको छ ।

चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाएर चन्दा दातालाई सम्मान गरिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष शम्शेरबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग चन्दा सङ्कलन गरिएको थियो । मन्दिरमा तामाको छानो छाउन करिब रु २१ लाख चन्दा सङ्कलन भएको थियो । त्यसमध्ये रु २० लाख खर्च भएको कुँवरले जानकारी दिनुभयो । “मन्दिरलाई धार्मिकस्थल बनाउने उद्देश्यले चन्दा सङ्कलन अभियान चलाएका थियौँ, क्यामिन घर भई देशका विभिन्न ठाउँमा रहेका स्थानीयवासीले यसमा सहकार्य गर्नुभयो । हामीले सरकारीस्तरको बजेटको मुख ताक्नुभन्दा स्थानीयवासीबाटै चन्दा सङ्कलन अभियान चलाएका हौँ”, उहाँले भन्नुभयो ।

यसअघि मन्दिरमा ढुङ्गाको छानो थियो । तामाको छानो छाइएपछि मन्दिर आकर्षक देखिएको छ । ललितपुरबाट कालीगढ ल्याएर तामाको छानो छाइएको हो । तामाको झल्लरमा बुट्टा कुँदिएको छ । ढोका पनि आकर्षक बनाइएको छ ।

क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविकका १ देखि ८ वडासम्मको पूजा हुन्छ । पुस र साउन महिनाबाहेक प्रत्येक महिनाको अष्टमीको दिन पूजा गरिने यस मन्दिरमा वडादसैँ र चैते दसैँमा विशेष पूजा गरिँदै आएको छ । पूजा गर्दा हरेक वडाबाट एउटा पाठी अनिवार्य ल्याउनुपर्छ ।

मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चबली दिँदा इच्छाएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिरमा तीन, चार सय वर्ष पुराना घण्टासमेत अवलोकन गर्न पाइन्छ । साथै मन्दिर परिसरमा दुई हजार चार सय राज्यको पालोमा सुरक्षाका लागि बनाएको गढीसमेत छ । क्यामिन कालिका मन्दिरलाई गोरखा कालिकाको बहिनीसमेत भनिने स्थानीय बताउँछन् ।

एक हजार दुई सय ३० मिटर उचाइमा अवस्थित क्यामिन कालिका मन्दिर सदरमुकाम दमौलीबाट १४ किलोमिटरको दूरीमा छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् ।

कुँवरले भन्नुभयो, “यस ठाउँ प्रचारप्रसारको अभावमा ओझेलमा परेको महसुस हुँदै आएको छ । हामीले यसको धार्मिक महत्वसहित प्रचारप्रसारमा जोड दिएका छौँ ।” सदरमुकामबाट नजिक रहेकाले पनि यस ठाउँ गन्तव्यस्थलका रुपमा विकास हुनसक्ने उहाँको भनाइ छ ।

मन्दिर परिसरमा गाह्रो लगाई चाइनिज इँटाको टायल लगाउने योजना बनाइएको छ । तर त्यसका लागि आर्थिक अभाव छ । क्यामिन कालिका मन्दिर पूजा तथा संरक्षण समितिका अध्यक्ष इमानसिंह गुरुङले मन्दिरको थप विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

दसैँको घटस्थापनाको दिन पहिला मन्दिरमा पूजा गरेर मात्र घरघरमा जमरा राख्ने प्रचलन रहेको छ । उक्त मन्दिर चौबिसे राज्यको पालामा स्थापना भएको धार्मिक मान्यता छ । यहाँ विसं १७०० सालको घण्टी भेटिएको स्थानीय बताउँछन् । मन्दिरमा एक ब्राह्मण पुजारी छन् ।

क्यामिन कालिका मन्दिरसमेत समेटिएको क्यासमिरी पदमार्गलाई प्रवद्र्धनका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसलाई समेटेर बनाइएको ‘क्यासमिरी’ पदमार्गको नगरपालिकाले सम्भाव्यता अध्ययन गरिसकेको छ ।

तत्कालीन जिल्ला विकास समिति तनहुँले यो मार्गको अध्ययन गरेको थियो । त्यसबेला पदमार्गको अध्ययन गरेर नक्सा तयार पारिएको थियो । व्यास नगरपालिका–७ सादीबैगैँचाबाट सुरु हुने २८ किमी दूरीको पदमार्ग लमजुङको कुन्छासम्म पुगेर टुङ्गिन्छ ।

पर्यटनविद् हरिसिंह गुरुङले सांस्कृतिक, प्राकृतिक र धार्मिक दृष्टिकोणले पदमार्ग उपयुक्त रहेको बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा ७५ प्रतिशत टाकुरैटाकुरोमा पदयात्रा गर्न पाइन्छ । क्यासमिरी जिल्लाका उत्कृष्ट पाँच पदमार्गमध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाँरा, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिका भित्र पर्दछ ।