१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा चौतारी संरक्षण अभियान



अ+ अ-

गलकोट । पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । मासिँदै आएका वरपीपल चौतारीले मौलिक सम्पदा गुमेको भन्दै चौतारी संरक्षण अभियान थालिएको छ ।

सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वरपीपल मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मतसम्भार गर्ने अभियान थालिएको छ । बागलुङ नगरपालिका–३ देउराली चोक नजिकैको हनुमानपौवाको चौतारी पुन:निर्माण गरिएको छ ।

सडक विस्तार र पहिरोका कारण चौतारी भत्किएर बस्नै नमिल्ने भएपछि स्थानीय तीर्थप्रसाद श्रेष्ठको सहयोगमा चौतारी संरक्षण गर्न थालिएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसीले जानकारी दिनुभयो ।

“हनुमान पौवामा पाँच वर्ष पहिलासम्म परम्परागत धारोमा पानी आउँथ्यो, चिटिक्क परेको चौतारी थियो तर सडक विस्तार र पहिरोका कारण जमिन भासिँदा सार्वजनिक शौचालयसहित चौतारो भत्किएको थियो”, वडाध्यक्ष केसीले भन्नुभयो, “बागलुङ बजारको प्रवेशद्वारमै चौतारो भत्किएको थियो, त्यसैले स्थानीय तीर्थ श्रेष्ठको आर्थिक सहयोगमा अहिले चौतारी, शौचालय र खानेपानीको काम भएको छ ।”

पछिल्लो समय बागलुङ बजारभित्र रहेका वरपीपल चौतारी मासिनेक्रम बढेकाले संरक्षण गर्न दाताको सहयोग पाएको वडाध्यक्ष केसीको भनाइ छ । हनुमानपौवामा सुन्धाराको जस्तै खानेपानीको धारा रहेकामा पछिल्ला वर्षमा संरक्षण अभावमा भत्किएकाले पुन:श्रेष्ठकै सहयोगमा खानेपानीको धारा पुन:निर्माण गरिएको हो । बागलुङ नगरपालिका–१ रामरेखास्थित सहिद पार्कअघि हालै नयाँ चौतारी निर्माण गरिएको छ । वरपीपल चौतारी मासिने सन्दर्भमा यहाँ भने नयाँ चौतारी बन्नु सुखद रहेको पाइएको छ ।

यस्तै बागलुङ नगरपालिका–८ सिँगाना थापाथर नजिकै फागुन महिनामै श्रमदानबाट नयाँ चौतारी निर्माण गरिएको छ । घर नजिकै रहेको चौतारी पहिरोले पुरेपछि स्थानीयको पहलमा सडक छेउको घुम्तीमा चौतारी निर्माण गरिएको स्थानीय युवा राजीन खड्काले बताउनुभयो । खड्काले गाउँमा युवा जुटेको समयमा श्रमदान गरेर सडक छेउमा चौतारी निर्माण गरेको बताउनुभयो ।

“सार्वजनिक सम्पत्तिका रुपमा रहेका चौतारी मासिनेक्रम बढेकाले थापाथर जाने सडकको घुम्तीमा यहाँका युवाको सक्रियतामा चौतारी चिनिएको छ, आर्थिक सहयोग जुटाएर प्लास्टरसहित रङरोगन गरी चिटिक्क पार्ने हाम्रो योजना छ”, खड्काले भन्नुभयो “रोजगारीका लागि विभिन्न देशमा गएका युवा घर फर्केका समयमा श्रमदान गरेर बनाइएको चौतारीमा वरपीपल भने सार्न बाँकी छ ।” सडक विस्तारका क्रममा सयौँ वरपीपल चौतारी मासिएका सन्दर्भमा बागलुङमा चौतारी संरक्षण गर्न स्थानीय अग्रसर भएका हुन् ।