१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको लुकबुङ गुफा पर्यटकको पर्खाइमा



अ+ अ-

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ ।

फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो ।

“जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुकबुङ गुफा सुनसान छ,” उहाँले भन्नुभयो, “मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुकबुङ गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ ।” गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अङ्ग आकृति देख्न सकिन्छ । विभिन्न जनावर र शिवलिङ्गका प्राकृतिक आकृति गुफाका आकर्षण हुन् । करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ । हिउँदयाममा झरनाको पानी जम्छ ।

गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुकबुङ गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ । फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दु:ख कलात्मक आकृति देखेर भुलाउँछ । गुफाभित्रै पकाएर खान सकिने भाँडाकँुडा पनि छन् । औँसी र पूर्णिमाका दिन लुकबुङ गुफा दर्शन गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन् । फल्याक गाउँदेखि लुकबुङ गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पुर्‍याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।