१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

एकै परिवारले गर्यो ३५ लाखको सुन्तला बिक्री

एकै परिवारले गर्यो ३५ लाखको सुन्तला बिक्री
अ अ+ अ-

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताउनुभयो ।

उहाँले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताउनुभयो । भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आउनुभएको हो । “चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो”, देवीप्रसादले भन्नुभयो, “पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ ।” उहाँले हालसम्म छोराहरूले तीन हजार सुन्तलाका बोट पुर्याएको दाबी गर्नुभयो ।

देवीप्रसादका छभाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै रु २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले अघिल्लो वर्ष रु १६ लाखको सुन्तला उत्पादन गर्नुभएको थियो । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले रु १० लाख र साइँलो छोरा कमलले रु पाँच लाखको सुन्तला उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँहरूले पनि अघिल्लो वर्ष करिब रु १० लाखको सुन्तला बिक्री गर्नुभएको थियो ।

तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताउनुभयो । उहाँका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन् । एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताउनुभयो ।

उहाँले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाउनुभयो । उहाँले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताउनुभयो । “खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरेअनुसारको प्रतिफल पनि छ”, कविराजले भन्नुभयो, “तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ ।”

कविराजको हजुरआमा उमादेवी भण्डारीले विदेशको कमाई जित्न सक्ने यहाँ सुन्तला उत्पादन हुने बताउनुभयो । “यहाँ सुनसरह सुन्तला फल्छन् तर पनि नातिहरू विदेश जान्छौँभन्दा मन अमिलो हुन्छ”, उहाँले दुखेसो पोख्नुभयो, “हामीलाई सम्पत्ति पुग्दो छ, केही चाहिएको छैन, बुढेसकालमा छोरानातिसँगै बस्न पाए मनै हलुङ्गो हुन्थ्यो ।”

यहाँ उत्पादित सुन्तला काठमाडौँ, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ । ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन् । यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला रु ६० देखि एक सय २० सम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्ने गरेका छन् ।

किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गर्नुभयो । “सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो, “जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौँ ।” ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले रु दुई करोड ५० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेको दाबी गर्नुभयो ।

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपर जोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आइपिएम पाठशालासमेत सञ्चालनमा छ ।