• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

चैतका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति पुग्यो ?



काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चैत महिनाका लागि ७.२५प्रतिशत तोकिएको छ । फागुन महिनामा ७.७५ प्रतिशत थियो । जुन ०.५ प्रतिशत विन्दुले घटेको छ ।

एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । एनआईसीले चैतमा व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत पुर्याएको छ ।

यस्तै, प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झारेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ५.६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सिटिजन्स र माछापुच्छ्रे बैंकले ७.७५ ब्याजदर तोकेको छ भने प्राइम कमर्सियल, नबिल र सानिमा बैंकले ७.२५ ब्याजदर कायम गरेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले ७.६ प्रतिशतले ब्याजदर कायम गर्दा लक्ष्मी सनराइज, प्रभु , हिमालयन, सिद्धार्थ बैंकले ७.५ प्रतिशत तोकेको छ । स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकले ७ प्रतिशतले ब्याजदर कायम गरेको छ ।