• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा…

२१ मिनेट घटाइयो ‘रङ्गेली’, सोमबार देखि कम लम्बाइको प्रदर्शन हुने



काठमाडौं। शुक्रवार रिलिज भई सफलताका साथ देशभर चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’को पुन: सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको यो चलचित्र सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताए ।’दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद चलचित्र केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ’, निर्देशक सुवेदीले भने, ‘हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा चलचित्रको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुन: सम्पादन भएको चलचित्र हलमा आएको छ ।’

पहिलो पटक चलचित्र निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने चलचित्र हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, ‘मले पहिलो पटक चलचित्र बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त चलचित्र बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।’

रिलिजको पहिलो र दोस्रो दिन चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो । तेस्रो दिन सोमबार पनि चलचित्रको व्यापार सन्तोषजनक नै रहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।