५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा



अ+ अ-

धनकुटा । संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नगेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने)गरिन्थ्यो । सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको छ ।

सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो । पछिल्लो समय विसं २०५४ पछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिनुभयो । अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, सङ्खुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उहाँले जानकारी दिनुभयो ।

धनकुटा र भोजपुरको सिमानामा रहेको अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाबजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा रहेको छ । गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको सङ्खुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिनुभयो । “पहिला यहीँबाट सञ्चालन हुने भए पनि अहिले उता बेग्लै समिति छ, यहाँको काम सकिएर हामी उताको कममा लाग्नेछौँ”, अध्यक्ष पुरीले भन्नुभयो ।

सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुनसके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने महालक्ष्मी नगर पालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ । धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिनुभयो ।

गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा छ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । “मालपोत कार्यालयले तत्परता देखाए तुरुन्त जग्गाधनी पुर्जा वितरणको काम हुन्छ”, नगर प्रमुख रायाले भन्नुभयो । गुठी र मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकनका रूपमा विकास गर्न नगरपालिकाले मन्दिरको जीर्णोद्वार तथा गुठी व्यवस्थापनको काममा सहयोग गरिरहेको रायले जानकारी दिनुभयो । रासस