५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोलेश्वरसहित भक्तपुरका शिवालयमा दर्शनार्थीको घुइँचो



अ+ अ-

भक्तपुर । आज महाशिवरात्रि पर्वका अवसरमा मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि उक्त मन्दिरमा पूजा सुरु भएको र यहाँ दर्शनार्थीको घुइँचो लागेको सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवीरसिंह प्रधानले बताउनुभयो ।

उहाँले मध्यपुरथिमि क्षेत्रमा बसोबास गर्ने स्थानीयसहित बसाइँसराई गरेर आएका देशभरका हिन्दू धर्मावलम्बीलाई दर्शन एवं पूजा गर्ने वातावरण निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

समितिका पदाधिकारी एवं सदस्यले बिहानैदेखि पूजाआजा र दर्शनको व्यवस्थापन गरेका छन् । मन्दिरमा दिनभर हवन तथा पूजा भएको छ भने भारतबाट आएका एक हनार आठ सत्यदेबजी महाराजद्वारा प्रवचन हुने जानकारी पनि दिइएको छ ।

त्यसैगरी भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको र दर्शनार्थीले चारै वटा ढोकाबाट प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उहाँले बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताउनुभयो । डोलेश्वरमा अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर भक्तजन आफैँले पूजा एवं दर्शन गर्न पाएका छन् । उहाँले राति ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

आज रातभर जाग्राम बसी धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित तीन सयभन्दा बढी साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको छ । मन्दिरमा आउने भक्तजनलाई नि:शुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था पनि गरेका छन् ।

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । रासस