काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । सोमबार सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ ।
यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।