• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा



काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषत: सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्‍घोष गरेको छ ।

उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ । यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुन: पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप मजबुत बनाएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भन्नुभयो, “ नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ ।

यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन मद्दत गर्नेछन् ।”

उक्त कोषले देहायका तीन कार्यक्रममा सहयोग गर्नेछ :

युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ

कक्षा १-३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होउन् भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ ।

त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग पुर्‍याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउनेछ ।

युएसएआइडी शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण

युएसएआइडीले सबै प्रदेशमा कक्षा १-१० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई मजबुत बनाउनेछ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्नेछ ।

युएसएआइडी समतामूलक तथा समावेशी शिक्षा

आफ्नो शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउनेछ, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउनेछ र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्नेछ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ ।

नेपालमा युएसएआइडीले सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी शिक्षा क्षेत्रका साझा प्राथमिकताहरूमा काम गर्नुका साथै शिक्षा, विपद् उत्थानशीलता, आर्थिक वृद्धि, लोकतन्त्र र सुशासनका क्षेत्रमा भएका प्रमुख चुनौतीहरूको सामना गर्दछ । शिक्षा क्षेत्रमा आफ्नो साझेदारीमार्फत युएसएआइडीले सीमान्तकृत युवा र प्रारम्भिक कक्षाका विद्यार्थीका विशिष्ट आवश्यकताहरूको सम्बोधन पनि गर्दछ, जसले नेपालको शिक्षा क्षेत्रमा उच्च गुणस्तरीयपन र अझ बढी समावेशी र समतामूलक शैक्षिक प्रणालीप्रति योगदान पुर्‍याउँछ ।

कक्षाकोठामा सबै बालबालिका सफल हुने सम्भावना बढाएर युएसएआइडीले नेपालको उज्ज्वल भविष्यलाई सहयोग पुर्‍याउँछ जहाँ सीमान्तकृत समुदाय र समूहहरूलगायत सबै जनता नेपालको लोकतन्त्रमा पूर्ण रूपमा सहभागी हुन सक्छन् ।