काठमाडौंः आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुने वा नहुनेमा अझै अन्यौल रहेपनि निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्रीका लागि टेन्डर आह्वान गरेको छ ।
आयोगद्वारा मंगलबार प्रकाशित सूचनामा मतदान केन्द्रहरुमा प्रयोग हुने विभिन्न निर्वाचन सामग्री खरिद गरिने उल्लेख छ । उक्त टेन्डरमा छपाई सम्बन्धी (मतपेटिका स्टीकर र परिचयपत्र), पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, स्वस्तीक छाप, नउड्ने मसीको मार्कर, छेकाबार तथा स्ट्याम्प प्याड रहेका छन् ।
यस्तै, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुस्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेसिन र पीन, स्केल र कैंची तथा जेलपेन, मार्कर पेन, पन्चिङ मेसिन र लाहाका लागि टेन्डर गरिएको छ ।
उक्त टेन्डर आगामी फागुन १८ गतेसम्म बुझाउन आयोगले म्याद दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधिसभा भङ्गका विरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ, र यस बारेमा केही दिनभित्रै टुंगो लाग्ने अनुमान गरिएको छ ।
केही दिनअघि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको काम सुस्त भएको भन्दै टिप्पणी गर्नु भएको थियो । तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकै आधिकारिताका विषयमा आयोग अनिर्णयको अवस्थामा रहेकाले तोकिएको मितिमा चुनाव हुनेमा आशंका उत्पन्न हुँदै गएको हो ।












