• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो



गलकोट (बागलुङ) । विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुन:प्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गर्नुभएको रु ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुन: काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । “सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो”, क्याम्पसप्रमुख उपाध्यायले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न रु एक करोड बजेट दिएकाले निर्माणको काम पुन: सुरु भएको उहाँले बताउनुभयो । भवन अपाङ्गमैत्री हुनेछ । रासस