• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   एटलान्टा युरोपा लिगको फाइनलमा ★   लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी ★   बजेट अधिवेशन आजदेखि : संसद् चल्ने कि नचल्ने अन्योल ★   पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित ★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि



फाईल फोटो

गण्डकी : रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभयो ।

गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उहाँको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो । “रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।”

मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।

“रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ”, वडाध्यक्ष घर्तीले भन्नुभयो, “उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।”

विक यसअघि गाउँमै गाडी चालक रहेको उहाँका साढुभाइ सनबहादुरले बताउनुभयो । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुग्नुभएको थियो । विकका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।रासस