• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली ★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण



म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो ।

गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताउनुभयो । “तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ ९पक्की० पर्खाल पनि बनाएका छौँ”, उहाँले भन्नुभयो, “ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।”

इन्जिनियर बाँस्तोलाका अनुसार बेनी–जोमसोम सडकको ताङछराबाट सेकुङ हुदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा रु दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताउनुभयो । खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो । ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताउनुभयो ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न जानुभएका सुरेन गुरुङले बताउनुभयो । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ ।

ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ । प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताउनुभयो । रासस