• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ ★   बागमती प्रदेशसभा बैठक बस्दै ★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ: डा भट्टराई



काठमाडौँ । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभएको छ ।

डा भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिनुभयो ।

“मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योलता छ । हरियो घाँसमा खालीखुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ । यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ । धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “सुगर फ्रि -चिनीरहित भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हँुदैन । यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नु हुँदैन । यसले फाइदा कम बेफाइदा बढी हुन्छन् ।”

डा भट्टराईले बजारमा पाइने सुगर फ्रि भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्राङ्गारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिनुभयो । “मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ”, उहाँले भन्नुभयो, “मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।”

डा भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताउनुभयो । “मुख्यत: मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ”, उहाँले भन्नुभयो ।

मधुमेहका बिरामीमा थकाई, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा भट्टराईले जानकारी दिनुभयो । समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उहाँले बताउनुभयो । झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उहाँको भनाइ थियो ।

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । “मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ । नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो”, उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ ।”

बालबालिकामा टाइप–एक र युवाअवस्थामा टाइप–दुई मधुमेहको समस्या धेरै देखिनडा भट्टराईको भनाइ थियो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य एवं आलेख प्रमुख कृष्ण अधिकारीले स्वस्थ जीवनशैलीका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीका लागि यस्ता अन्तक्र्रिया प्रभावकारी हुने भन्दै महिनामा एकपटक स्वास्थ्य सम्बन्धी अन्तक्र्रिया गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस