२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति



अ+ अ-

वालिङ । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई विद्यालयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने गरिएको विद्यालयका प्रधानाध्यापक सामबहादुर गुरुङले बताउनुभयो । “यस विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्यालयमै हुन्छन्” उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको छलफलबाट अतिरिक्त समयमा पनि विद्यार्थी विद्यालयमै रहने निर्णय गरेको हो ।”

अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई घरमा किताव पढाउन तथा सोधेका कुराहरु सिकाउन नसक्ने भएकाले विद्यालयमै राखेर सिकाउने गरिएको हो । बिहानदेखि साँझसम्म विद्यार्थीले सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान लिने गरेका छन् । अतिरिक्त समयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आयमूलक तरकारी, मौरी, च्याउ, फलफूल, सिलाइबुनाइलगायत सीप सिक्ने गरेका छन् । “बिहान ७ बजे विद्यालय आएका विद्यार्थी एकैचोटी साँझ साढे ६ बजे विद्यालयबाट घर जान्छन्” उहाँले भन्नुभयो, “गृहकार्य पनि विद्यालयमै गर्छन्, जसले गर्दा नजानेका केही कुरा भए विषयसँग सम्बन्धित शिक्षकलाई प्रत्यक्षरुपमा सोध्न पाउँछन् ।”

जीवनज्योतिमा विद्यालय समय १०–४ भन्ने छैन । बिहानदेखि साँझ अबेरसम्म दैनिक कक्षा सञ्चालन हुने गरेको छ । शिक्षकले बिहानैदेखि साँझसम्म तालिका मिलाएर अध्यापन गराउँदै आएका छन् । शनिबारको दिनमासमेत ‘सामाजिक आन्दोलन’ नाम दिई खेलकूद, नयाँ नयाँ खोज तथा रचनात्मक कार्य, नयाँ प्रतिभाको खोजी हुँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थी आफैँले आफ्ना लागि शैक्षिक सामग्री किन्न सक्ने बनाउन पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो ।

विद्यालयले च्याउ खेती, सिलाइबुनाइ, वेल्डिङ, मौरीपालन जस्ता काम गरिसकेका छन् । अब केही दिनमा नै ह्याचरीबाट कुखुराका चल्ला उत्पादन गरी विद्यार्थीलाई उपलब्ध गराउने तयारीमा विद्यालय रहेको छ । बिहानैदेखि साँझ अबेरसम्म विद्यालय सञ्चालन हुने भएपछि विद्यालयले एउटा सवारी साधन खरिद गरी सञ्चालनमा ल्याएको छ । स्याङ्जाको विकट ग्रामीण भेगमा रहेको जीवनज्योतिले शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ ।

ग्रामीण भेगबाट बसाई सरी शहरी क्षेत्रमा जाने क्रमलाई रोक्न गाउँमै गुणस्तरीय शिक्षा दिने अभियान थालिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु। दश लाख, बिरुवा गाउँपालिकाले रु। पाँच लाखको सहयोग र स्थानीय समुदाय, अभिभावक, शिक्षकले दिएको चन्दाबाट रु। तीस लाखमा बस खरिद गरेको छ । विद्यालयमा दैनिक प्रधानाध्यापक फेर्ने गरिएको छ । शिक्षकभित्रैबाट दैनिक प्रधानाध्यापक फेरी आलोपालोमा प्रशासन चलाउने अभ्यास पनि जीवनज्योतिले गरेको छ । रासस