३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा

काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा
अ+ अ-

काठमाडौंका दुई ठूला सरकारी अस्पतालका सफाइ कर्मचारी एचआईभी, हेपाटाइटिस र क्षयरोग संक्रमणको उच्च जोखिममा छन् । जोखिम भत्ताबिना नै जोखिमपूर्ण काम गरिहेका उनीहरूले बिरामी भएर काममा आउन नसकेको दिनको ज्याला पनि पाउँदैनन् । 

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालभित्रको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रमा कार्यरत दीपा (परिवर्तित नाम) को दिनचर्या हो— स्वास्थ्यकर्मीले प्रयोग गरेका पन्जा, सिरिन्ज, उपचारका क्रममा प्रयोग भएका गज तथा प्याड, प्लास्टिक र सिसाका टुक्रा छुट्याउने र त्यसलाई व्यवस्थापन गर्ने । features-1719398032.png

नियमित रूपमा ११ वर्षदेखि यो जोखिमपूर्ण काम गरिरहेकी उनले सुरक्षाका लागि सेतो गाउन, सर्जिकल क्याप, मास्क, पञ्जा र बुट त लगाएकी छन् । यो सुरक्षा कवचले अस्पताललाई सफा र सुरक्षित राखे पनि दीपालाई जोखिममुक्त राख्न सक्दैन भन्ने यहाँको वातावरणले नै देखाउँछ ।

यो केन्द्रको ढोका खोल्दा वान्तै होलाजस्तो दुर्गन्ध बाहिरसम्मै आउँछ । स्थलगत अवलोकनका क्रममा हामी थापाथलीको फोहोर व्यवस्थापन केन्द्र भित्र एकैछिन पनि बस्न सकेनौँ । जतिबेर बस्यौँ, त्यत्तिन्जेल हामीले हातले नाक छोपेर श्वासप्रश्वास रोक्नुपर्‍यो । केन्द्रको कोठाबाट बाहिर निस्किँदा शरीर नै गन्हाउने भयो । “मैले यहाँ घण्टौं उभिएर दुर्गन्धित, संक्रामक र विषाक्त फोहोर व्यवस्थापन गर्छु,” दीपा भन्छिन्, “तर पनि अस्पतालका अन्य विभागका कर्मचारीले पाउने सुविधा र प्रोत्साहन मैले पाउँदिनँ ।”

दीपासहितका कर्मचारीले अस्पतालको अप्रेसन थिएटर, वार्ड, ड्रेसिङ रुम, प्रयोगशालाबाट निस्कने फोहोरलाई संकलन गरेर यो केन्द्रमा ल्याउँछन् र त्यसलाई प्याथोलोजिकल, साइटोटोक्सिस, संक्रामक चिकित्साजन्य, औषधिजन्य, अन्य हानिकारक र सुरक्षित फोहोरलाई अलग अलग भाँडो वा थैलोमा छुट्याउँछन् ।

अस्पतालकै गत वैशाखको तथ्यांक केलाउँदा पहिलो हप्ता २ सय ७ किलो संक्रामक फोहोर निस्किएको थियो, जुन बढेर चौथो हप्तामा २ सय २३ किलो पुग्यो । अस्पतालमा बिरामी बढ्दा फोहोर छुट्याउने र व्यवस्थापन गर्ने कर्मचारीको काम पनि बढ्छ ।

कर्मचारीहरूले संक्रामक चिकित्साजन्य फोहोरलाई रातो भाँडोमा राख्छन् । बिरामीको रगत, पिप लागेका कपडा तथा कपास, शल्यक्रियामा प्रयोग भएका सामग्री, सुई र सिरिन्ज, ब्यान्डेज, प्रयोगशाला परीक्षणका लागि लिइएका नमुना र त्यो परीक्षणमा प्रयोग भएका सामग्री संक्रामक चिकित्साजन्य फोहोर हुन् । यी फोहोरमा हुने कीटाणु, ब्याक्टेरिया र भाइरसले स्वस्थ व्यक्तिलाई पनि रोग सार्न सक्छन् ।

संक्रामक फोहोर तीनवटा रातो भाँडोमा बन्द भए पनि यो केन्द्रमा सम्भावित जोखिमपूर्ण सामग्री मरुन रंगका झोलामा हामीले खुल्ला नै देख्यौँ । ती झोलामा पनि प्रयोग भइसकेका ड्रेसिङ प्याड, पन्जा, गजलगायतका सामग्री नै थिए ।

Infectious-Medical-Waste-NIMJN-1786429245.jpg
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका कर्मचारी संक्रामक फोहोर व्यवस्थापन गर्दै ।  तस्बिर : अदिती श्रेष्ठ/निमजिन

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मात्र होइन, काठमाडौंका अन्य अस्पतालको स्थिति पनि यस्तै छ । काठमाडौं जिल्लाका अस्पतालबाट हरेक दिन ११ हजार ३ सय १५ किलोसम्म संक्रामक चिकित्साजन्य फोहोर निस्किन्छ ।

अस्पतालमा फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरू भने न्यून सेवा सुविधामा पनि आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर काम गर्न बाध्य छन् । उनीहरूले काम गर्ने थलोसमेत सुरक्षित छैन । थापाथलीको अस्पताल परिसरको एउटा कुनामा सानो कोठामा रहेको फोहोर व्यवस्थापन केन्द्रको छाना फुटेको छ र यहाँ बर्खामा पानी चुहिन्छ ।

अस्पतालका सफाइ कर्मचारीले फोहोर व्यवस्थापनका लागि अटोक्लेभ मेसिनलाई म्यानुअल्ली सञ्चालन गर्छन् । “हामी संक्रामक फोहोरलाई दुइटा अटोक्लेभ मेसिनमा म्यानुअली लोड गर्छौँ र त्यसलाई अनलोड गरेपछि घण्टौँ लगाएर छुट्याउँछौँ,” केन्द्रका अर्का कर्मचारी किरण (परिवर्तित नाम) ले भने, “गर्मीको बेलामा काम गर्न कठिन हुन्छ, अटोक्लेभ मेसिन चलिरहेको बेला भित्रै बस्नुपर्ने हुन्छ, बाहिर बस्दा पनि गन्ध र गर्मीले असह्य हुन्छ ।” अटोक्लेभ मेसिनले संक्रामक चिकित्साजन्य फोहोरलाई उच्च तापक्रममा निर्मलीकरण गरेर सुरक्षित बनाउँछ । तर औषधिसहितका रासायनिक पदार्थ र मानव अंगहरूलाई अटोक्लेभ मेसिनमा निर्मलीकरण गर्न मिल्दैन ।

Autoclave-Machine-NIMJN-1786429246.jpg
अटोक्लेभ मेसिन चलाउँदै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालभित्रको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रका कर्मचारी । तस्बिर : अदिती श्रेष्ठ/निमजिन

देशकै जेठो मानिएको वीर अस्पतालको दृश्य पनि योभन्दा फरक छैन । यहाँको फोहोर व्यवस्थापन केन्द्र नवनिर्मित भवनको तल्लो तलाको पछाडि छ, यो केन्द्रको कोठा सबै फोहोरले भरिएको छ । छेउमा बिग्रिएका दुइटा अटोक्लेभ मेसिन छन् ।

फोहोर व्यवस्थापन केन्द्रको अगाडि पार्किङ छ । ३ वटा भवनबाट निस्कने फोहोर संकलन गरेर व्यवस्थापन केन्द्रसम्म ल्याउने, फोहोर छुट्याउने, अटोक्लेभ मेसिनमा निर्मलीकरण गर्ने र फोहोर लिन आउने गाडीमा फोहोर चढाउनेसम्मका कामका लागि १२ जना मात्र कर्मचारी छन्, जसमा अधिकांश महिला । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जस्तै यो केन्द्रमा पनि हामी एकैछिन पनि बस्न सकेनौँ ।

अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सफाइ कर्मचारीको हक हितका लागि काम गरिरहेको दाबी गरे । “फोहोर व्यवस्थापन केन्द्रका आवश्यक स्थानमा झ्याल तथा एक्जस्ट फ्यान जडान गर्ने प्रयास अस्पतालले गरेको छ,” उनले भने, “कर्मचारीलाई व्यक्तिगत सुरक्षा उपकरण, आवश्यक तालिम तथा हेपाटाइटिस ‘बी’ को खोप उपलब्ध गराइएको छ ।” विभिन्न कार्यक्रम तथा तालिमको आयोजना गर्दै कार्यसम्पादनमा आधारित सूचकमार्फत कर्मचारीलाई प्रोत्साहन गर्ने भनेर अस्पताल व्यवस्थापनले सोचिरहेको उनले बताए ।

जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले दुई वर्षअघि सार्वजनिक गरेको ‘डेटा कलेक्सन सर्वे अन वेस्ट म्यानेजमेन्ट इन नेपाल’ स्थलगत अध्ययन प्रतिवेदनका अनुसार ९ सय शय्याको वीर अस्पतालबाट दैनिक ५ सय ४४ दशमलव ०५ किलो साधारण र ३ सय २३ दशमलव ३२ किलो चिकित्साजन्य फोहोर निस्किन्छ । तर अस्पतालसँग भने पछिल्ला वर्षमा अस्पतालबाट निस्कने फोहोरको कुनै तथ्यांक छैन ।

अस्पतालका नाम बताउन नचाहने एक कर्मचारीका अनुसार वीर अस्पतालमा फोहोरमैला व्यवस्थापनको अभ्यास भने फितलो छ । वार्ड तथा बहिरंग विभागमा भित्र प्लास्टिकसमेत नराखेको खुल्ला भाँडोमा फोहोर मैला संकलन गरिन्छ । सामान्य तथा जोखिमपूर्ण फोहोरलाई कहिलेकाहीँ एउटै भाँडोमा मिसाइएको हुन्छ ।

कुहिने, नकुहिने, प्लास्टिजन्य, संक्रामक चिकित्साजन्य फोहोरलाई यसरी एउटै भाँडोमा संकलन गर्नु भनेको वातावरणका लागि मात्र नभई अस्पतालका कर्मचारी, बिरामी तथा बिरामीका कुरुवाहरूको स्वास्थ्यका लाग पनि जोखिमपूर्ण हो ।

संकलन भएका बोतल, प्लास्टिक, धातुजस्ता गैरखतरनाक फोहोरलाई ठेकेदारमार्फत बिक्री गरिन्छ । जसबाट अस्पतालले अतिरिक्त आम्दानी पनि गर्छ । तर त्यो आम्दानी सफाइ कर्मचारीको विकास तथा फोहोरमैला व्यवस्थापनको सुदृढीकरणमा प्रयोग नभएको ती कर्मचारी बताउँछन् ।

प्रवक्ता डा. प्रकाश वीर अस्पताल उपत्यकाको केन्द्रमा रहेको स्मरण गर्दै यहाँको फोहोरमैला व्यवस्थापन अस्पताल, बिरामी, कर्मचारी र समाजका लागि संवेदनशील विषय रहेको बताउँछन् । उनी भन्छन्, “हामीले अस्पतालमा उत्पादित संक्रामक फोहोर व्यवस्थापनमा ध्यान दिइरहेका छौंँ ।”

फोहोर व्यवस्थापनमा शारीरिक रूपमा कठिन, न्यून पारिश्रमिक पाइने र समाजले पनि राम्रो नजरले नहेर्ने पेसा हो । तर पनि औपचारिक क्षेत्रमा रोजगारीका अवसर नभएपछि कमजोर आर्थिक अवस्था भएका परिवारका महिलाहरू यो काममा संलग्न भएको पाइन्छ ।

थापाथली अस्पतालकी दीपा केही समयअघि बिरामी भएकी थिइन् । अस्पतालले उनी काममा नआएको दिनको तलब कट्टा गर्ने बतायो । जुन श्रम कानुनविपरीत हो । श्रम ऐन, २०७४ ले कर्मचारीले वार्षिक १२ दिनको तलबी बिरामी बिदा पाउने व्यवस्था गरेको छ ।

वेस्ट म्यानेजमेन्ट सर्भिसेजका स्वास्थ्यजन्य फोहोर व्यवस्थापन परामर्शदाता दीपक अधिकारीका अनुसार सफाइ कर्मचारीको स्वास्थ्यलाई अस्पतालले सधैँ पहिलो प्राथमिकतामा राख्नुपर्छ । “अस्पतालले हेपाटाइटिस ‘बी’ खोप उपलब्ध गराउनुपर्छ,” उनले भने, “एचआईभीको कुनै खोप छैन, तर कुनै कर्मचारीलाई प्रयोग भइसकेको सुईले घोचेको स्थितिमा एचआईभीको परीक्षणका लागि एआरटी सेन्टरमा पठाउनुपर्छ ।” एआरटी सेन्टरबाट एचआईभी परीक्षण, परामर्श र औषधि उपलब्ध गराइन्छ ।

अस्पतालमा एआरटी केन्द्र नभएमा फाहोर व्यवस्थापन समिति वा जिम्मेवार अधिकारीले नजिकैका एआरटी क्लिनिकको जानकारी राख्नुपर्ने र सुईले घोचेका कर्मचारीलाई तत्काल त्यहाँ पठाउनुपर्ने उनले बताए ।

“हामीसँग अस्पतालभित्र एउटा एआरटी सेन्टर छ, जहाँ कर्मचारीहरूले सुईले घोचेको रिपोर्ट गर्न सक्छन्,” परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी सूचना अधिकारी रानु थापाले भनिन्, “यदि कुनै कर्मचारीले घटनाको रिपोर्ट गरेको छ भने हामीले खोप लगाउने, औषधि दिने, उपचार गर्ने र बिदाको व्यवस्था गर्छौँ, तर कर्मचारीले रिपोर्ट गरेनन् भने हामीले थाहा पाउने उपाय छैन ।”

अस्पतालको फोहोर व्यवस्थापन केन्द्रका माथिल्लो तहका कर्मचारी (नाम उल्लेख गर्न नचाहने)का अनुसार सबै सफाइ कर्मचारीलाई काममा लगाउनुअघि तालिम दिने गरिएको छ । हरेक ५ वर्षमा हेपाटाइटिस ‘बी’ को खोप दिइन्छ ।

यो अस्पतालले दिएको न्यूनतम सुविधा हो, कार्यस्थलमा भेन्टिलेसन, बिरामी बिदाको तलब, सुईले घोचेमा पाउनुपर्ने प्राथमिक उपचारजस्ता अन्य आधारभूत आवश्यकतालाई भने अस्पतालले बेवास्ता गरेको सफाइ कर्मचारी बताउँछन् ।

“फोहोर व्यवस्थापनका लागि सुरक्षा सावधानी र आधारभूत सेवासुविधामा धेरै ध्यान दिइँदैन, जसले गर्दा कर्मचारीहरूमा आघात पर्छ र काम गर्ने वातावरण नकारात्मक हुन्छ,” परामर्शदाता दीपकले भने, “हामीले १ वर्षभन्दा बढी समय काम गरेका कर्मचारीबीच गरेको अध्ययनमा ६०—७० प्रतिशत कर्मचारीलाई सुईले घोचेको पायौँ, यसलाई हल्का रूपमा लिनु हुँदैन किनकि यसबाट जोकोहीलाई एचआईभी, क्षयरोग र हेपाटाइटिस सर्न सक्छ ।”

पाकिस्तानको बहरिया युनिभर्सिटी मेडिकल एन्ड डेन्टल कलेजको जर्नलमा प्रकाशित सन् २०१८ को रिसर्च आर्टिकलमा उल्लेख भएअनुसार रिक्यापिङ र फोहोर व्यवस्थापनका क्रममा कर्मचारीहरूमा सुईबाट चोटपटक लाग्ने गर्छ । यस्तो चोट लागेपछि बिरामीबाट स्वास्थ्यकर्मीमा हेपाटाइटिस ‘बी’ सर्ने सम्भावना ३ देखि ३० प्रतिशत हुन्छ । हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना ३ प्रतिशत र एचआईभी संक्रमणको सम्भावना ०.३ प्रतिशत हुन्छ ।

यसबाट सफाइ कर्मचारी उच्च जोखिममा रहेको देखिन्छ । हातैले म्यानुअल्ली फोहोर छुट्याउँदा सिरिन्ज र अन्य फोहोरमार्फत सरुवा रोग सर्ने जोखिम बढ्छ । त्यसैले संक्रमण रोक्नका लागि संक्रामक फोहोर छोएपछि सम्पर्कमा रहेका सबै चिजलाई निर्मलीकरण गर्नुपर्ने दीपकले बताए ।

तर हामीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हामीले जे देख्यौँ, त्यो दीपकले भनेको भन्दा फरक थियो । हाम्रै आँखा अघि कर्मचारीहरूले जेनतेन चलिरहेको अटोक्लेभ मेसिनमा रातो बोरा हाले । त्यसपछि हातसमेत नधोई प्लास्टिकको फोहोर राखिएको कक्षमा पुगे । संक्रामक फोहोर चलाउँदा पहिरिएकै कवचमा कवाडी संकलन गर्नेलाई दिइने सामान्य फोहोर छुँदा संक्रमण अस्पताल बाहिरसमेत पुग्ने जोखिम हामीले पायौँ ।

तर सूचना अधिकारी रानुले त्यसमा अस्पतालको कुनै त्रुटि नभएको जिकिर गरिन् । “हामीले कर्मचारीलाई पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) दिन्छौँ,” उनले भनिन्, “भौतिक पूर्वाधारको कमीले गर्दा अन्य सुरक्षा उपाय अपनाउन कमी भइरहेको छ, हामी हाम्रो सम्पूर्ण प्रणाली र पूर्वाधार परिवर्तन गर्ने प्रक्रियामा छौं र त्यो योजना चलिरहेको छ ।”

अस्पतालका वार्ड तथा विभागको फोहोर संकलनको काम बिहानै सुरु हुन्छ । फरक–फरक रंगका भाँडाहरूमा राखिएको फोहोर उनीहरूले संकलन गरेर फोहोर व्यवस्थापन केन्द्रमा ल्याउँछन् । संक्रामक फोहोरलाई अटोक्लेभ मेसिनमा राखेर निर्मलीकरण गरिन्छ ।

त्यसपछि सफाइ कर्मचारीहरूले फोहोरलाई हेरेर छुट्याउने काम गर्छन् । प्लास्टिक र पुनःप्रयोग गर्न मिल्ने वस्तुहरू कवाडी संकलकलाई बेचिन्छ । अरू फोहोर काठमाडौं महानगरपालिका वा फोहोर संकलन गर्ने संस्थाको गाडीमार्फत ल्यान्डफिल्ड साइटमा लगिन्छ । यही क्रमले अस्पतालको सरसफाइ र सफाइ कर्मचारीको दिनचर्या दोहोरिन्छ ।

बदलामा सफाइ कर्मचारीहरूले के पाउँछन् त ? हाम्रो प्रश्नमा एक कर्मचारीले भने, “अस्पतालले फोहोर व्यवस्थापनका लागि ठोस वा अझै राम्रो प्रणाली बनाउनुको सट्टा हामीलाई निर्देशकले पठाएको भनेर एक किलो चिनी र चियापत्ती दिइन्छ ।”

कभर तस्बिर :   परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालभित्रको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रमा दीपा (परिवर्तित नाम) ।

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।