• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

एसिसी वुमन्स प्रिमियर कपः नेपालले हङकङलाई आठ विकेटले हरायो



काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर ३५ बल बाँकी छँदै भेट्टायो ।

नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले चार रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन् ।

मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन् ।

जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन् । एसिसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइलैण्ड छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन् ।