• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छः प्रधानमन्त्री



तस्बिरः रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिनुभएको हो ।

उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिनुभयो । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ ।”

बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुनहुँदैन ।”

पछिल्लो समय देशको अर्थतन्त्र सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको छ भने अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएका छन् ।”

पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राष्ट्रिय महत्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।”

सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताउनुभयो । विगत वर्षको तुलनामा राजस्व सङ्कलनमा कमी नआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजस्व १० प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रियस्तरमा यसलाई राम्रो प्रगति मानिन्छ ।”

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराउनुभएको थियो । छलफलमा विभिन्न मन्त्रालयका मन्त्रीहरू एवं सचिवहरूको सहभागिता थियो ।