४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले मुग्लिन–पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो ।

नगर कार्यपालिकाको बैठकले बजार क्षेत्रका संरचना भत्काएर राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेको प्रवक्ता जीवन गुरुङले बताउनुभयो । मुख्यबजार क्षेत्रका संरचना नहटाइदिँदा काममा ढिला भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “डुम्रे, छिर्कनेलगायत ठाउँमा संरचना भत्काएर काम अगाडि बढिसकेको छ, तर दमौलीमा संरचना हटाउन ढिलाइ भएकाले नगरवासीलाई पुन: एकपटक संरचना हटाएर बाटो विस्तारका लागि सहयोग गर्न आग्रह गरेका हौँ ।”

मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायत ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ । बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ तर व्यास नगरपालिका खण्डमा भने कामले गति लिन सकिरहेको छैन ।

दमौली बजारका ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेका छन् । घर भत्काइसकेपछि दोस्रो किस्ताबापतको रकम भुक्तानी गरिने उक्त सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार क्षेत्रको घर भत्काउँदा करिब रु छ करोड क्षतिपूर्ति प्रदान गरिनेछ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्मे सडक हुँदा यात्रामा असहज हुने गरेकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहज हुने भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको कामसमेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि सो पुल बनाउन लागिएको हो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस