६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्र विक्रम चन्दसँगको हस्ताक्षर समारोह शुरु, औपचारिक रुपमा बिप्लब सार्वजनिक-लाईभ



अ+ अ-

काठमाडौंः क्रान्तिको कार्यभार पूरा नभएको भन्दै भूमिगत शसस्त्र आन्दोलन गरिरहेको नेत्र विक्रम चन्द “बिप्लब” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच सहमतिको औपचारिक हस्ताक्षर कार्यक्रम शुरु भएको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा भएको उक्त हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्र विक्रम चन्द उपस्थित हुनु भएको छ ।

शान्ति प्रक्रियाको महत्वपूर्ण कडिका रुपमा हेरिएको यो सम्झौतापछि चन्द समूह औपचारिक रुपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनेछ ।

राष्ट्रिय सभागृहको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली र चन्द समूहका महासचिव नेत्र विक्रम चन्द प्रधानमन्त्री निवास बालुवाटारबाट एउटै गाडीमा चढेर आउनु भएको थियो ।

औपचारिक रुपमा सार्वजनिक हुनेक्रममा महासचिव चन्दले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गर्नु भएको थियो । उहाँ आजै बिहान पूर्वी नवलपरासीबाट प्रहरीको सुरक्षा घेरामा मोटरबाटै राजधानी आइपुग्नु भएको थियो ।  

सामाखुशीस्थित एक घरमा चन्दले वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्मा, काभ्रे प्रहरीको हिरासतबाट मुक्त हुनु भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरुसँग भेट गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीसँग चन्दले आगामी दिनमा गरिने खुला राजनीति, वर्तमान अवस्थाका बारेमा छलफल गर्नु भएको बताइएको छ ।