• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताउनु भयो । उहाँले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताउनु भयो । उहाँले मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टिआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरु छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरुले न्याय पाउनुपर्छ । पीडित केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी, दण्डहिनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।’

अध्यक्ष ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताउनु भयो । उहाँले अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नु भन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो । पाएका अधिकार सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको भन्दै प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयन गर्न संघ सरकार उदासिन देखिएको छैन । हामीले नै ऐन बनाएर, हामीले संविधान बनाए संघीयता ल्याएका हौँ । उदासिन भएको छैन । पाएका जति अधिकार ठिक ढंगले कार्यान्वयन गर्नुपर्छ । कर्मचारी कहाँ छैनन्, आफूले कर्मचारी राख्न पाइएन भनेर हुन्छ । पोल्टिसियनहरुले प्रहरी चलाएर धेरै बिग्रिएको छ । पुलिसलाई आफ्नै ढंगले चल्न दिनुपर्छ । संघ, प्रदेश र स्थानीय तहले कर्तव्य निर्वाह गर्नेकुरामा आफ्नो भुमिका पूरा गर्नुपर्छ । अहिले संघीयता सफल ढंगले कार्यान्वयन गर्ने बेला हो । संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको छ । प्रश्न उठिरहेको छ । राम्रोसँग काम नभएपछि प्रश्न उठेको हो । यो प्रश्न उठाउने बेला होइन, सफल बनाउने बेला हो । सही ढंगले संघीयताको कार्यान्वयन हुनुपर्छ । जबसम्म जनता सचेत हुँदैनन् तबसम्म देश तेस्रो दलको नेतृत्वमा चल्छ ।’

तेस्रो राजनीतिक दलले कहिलेसम्म सरकार चलाउने हो ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले जनता सचेत नभएसम्म सरकार चलाइरहने बताउनु भयो ।