काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुन: वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ ।
अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुन: उक्त प्रक्रिया सुरु गर्न लागिएको हो ।
वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । फोहर वर्गीकरणसँगै कामपाले वर्गीकरण गर्दा निस्किएका पुन: प्रयोग गर्न सकिने फोहरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि महानगरले जनाएको छ । श्रेष्ठका अनुसार स्रोतमा नै फोहरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गराइने बताइएको छ ।
कसरी गर्ने फोहर वर्गीकरण
भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने कामपाबाट फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक ९पिपीइ०, पञ्जा, फुटेका सिसा, घरआँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनेटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ ।
यस्तो फोहर कुहिने र नकुहिने भाँडामा नराखी अर्को छुट्टैमा राख्नुपर्छ । फोहरलाई आवश्यकता हेरी छुट्टाछुट्टै भाँडामा राख्नु वर्गीकरण हो । वर्गीकरणका फोहर व्यवस्थापन गर्न विभागले सोहीअनुसारको गाडीको व्यवस्था गरिरहेको छ । रासस