काठमाडौं । पशुपतिनाथको सन्ध्या आरतीमा बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति बनाइएको छ ।
मंगलबार पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने बताएको थियो । धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै यसमा चर्को आलोचना भएको थियो ।
पछि पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटलले गंगा आरतीको भिडियो खिच्न निषेध गरिएको भन्ने सूचनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति समेत निकालेको थियो ।