काठमाडौं । विदाई, शब्दबाटै बुझिन्छ कि यो सहज र सुखद हुदैन । विदाई भेटहरु प्रायः भावनात्मक र दुःखद हुन जान्छन् किनभने यो यो छुट्टिने बेलाको भेट हो । हिजो कोटेश्वको पेरिसडाँडामा पनि त्यस्तै देखियो । अस्तिसम्म नेकपा रहेका र अस्ति साँझ अकस्मात आफ्नो पूर्व पार्टी एमाओवादीमा पुगेका प्रचण्ड र एता नेकपा एमाले हुन पुगेका माधव नेपालबीचको यो विदाई भेटको दृश्य क्यामेरामा कैँद गर्न लायक थियो ।
त्यसैले त माधव नेपाल भन्दै थिए– प्रचण्ड र मेरो पार्टी फरक हुन पुगे पनि हाम्रो मन एकै ठाउँमा छ, हामी टाढा छैनौँ । विदाई भेटको भाषा यही हो, त्यसैले उहाँहरुको मन पनि भारी थियो र त्यो विदाई भेट नै थियो । यो पिरती त दुई वर्षअघि मात्रको हो तर छोटो समयमै गाढा बन्दै गएको थियो । भनिन्छ, कसैको कर्के आँखा पर्यो भने त्यो पिरतीको गाँठो झनै कस्सिन्छ । ओलीको आँखा लाग्न नदिन उहाँहरुले त्यो गाँठो झनै कस्नुभएको थियो ।
त्यसैले हिजै पनि पिरतीको त्यो गाँठो फुक्न नपाओस भन्ने चाहना दुवैको थियो । तर पनि दुवैले बिहानैदेखि मन भारी बनाउँदै हुनुहुन्थ्यो । एक्कासी छुट्टिँदा गाह्रो नहोस् भनेर बिहानै देखि माधव नेपालले मन थाल्न थालिसक्नुभएको थियो र भन्नुभएको थियो– सायद पेरिसडाँडाको हाम्रो औपचारिक बैठक आज अन्त्य हुन सक्छ । यसले के संकेत गर्छ भने उहाँले दिउँसो एक्कासी छुट्टिन गाह्रो नहोस् भनेर बिहानैदेखि मानसिक तयारी गर्नुभएको हो । उहाँको बडो तौलिएको भाषाको अर्को संकेत यो पनि हो कि औपचारिक रुपमा उहाँ अब पेरिसडाँडाको बैठकमा नभए पनि अनौपचारिक बसाइहरु गर्नुहुनेछ ।
फेरि पनि के हुन सक्छ भने उहाँका ओली इतरका अरु बैठकहरु अनौपचारिक रुपमा पेरिस डाँडामा बस्न सक्छन् र त्यहाँ प्रचण्डको सक्रिय सहभागिता रहन्छ नै । उहाँले फुकी फुकी प्रयोग गर्नुभएको औपचारिक शब्दको अर्थ अहिलेलाई यति चाहिँ लगाउन सकिन्छ । माधवको फिर्ती त आफ्नै घरमा हो । त्यो घर तुलाउन उहाँले पनि जीवनी सक्नुभएको छ । तर आज आएर आफ्नै घर त्यति सौहार्द छैन । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदन सक्ने सम्भावना यहाँ जिवीतै छ ।
किनभने कहिलेकाहीँ मानिसलाई आफ्नै छायाँले पनि जिस्काउने गर्दछ । दोषी दिमाग शंकालु हुनु अगावै उहाँमाथि छिमेकीसँग मिलेर घर भाँडेको आरोप लाग्न पनि सक्छ । किनभने हिजोमात्र पनि उहाँको पार्टीका अध्यक्ष र उहाँको पछिल्लो संघर्षका एक सारथिले नै एक अर्कालाई तिम्रो पार्टी कुन् हो भनेर सोधासोध गरेको सुुनिएको, देखिएको थियो । यसैले अहिले उहाँको आफ्नै घरमा पुनरागमन पनि त्यति सहज देखिँदैन । सायद बैठकका उहाँमाथिको घोचपेचहरु त बाँकी छन् आउलान् । तर पनि उहाँलाई धुम्बाराहीमा कुनै युद्धमा हारेर क्याम्प फर्किएको लखतरान सिपाहीजस्तो व्यवहार गरिएला । जसका कारणले देशमा यो हुने हुनामी भएजस्तो आरोप लगाइएला ।
जसरी विघटित संसद पुस ५ अघिको शून्य प्रभावमा फर्कियो ठीक त्यसैगरी नेकपा पनि विसं २०७५ पुस २ गते फर्कियो । यी दुवै काम यसै हप्ता मुलुकको सर्वोच्च न्यायलयले गर्यो ।
प्रतिनिधि सभा ब्युँताउने काम पनि यसैहप्ता यही न्यायालयले गरेकोले माधव नेपालहरु धुप बाल्नुभयो । किनभने यो उहाँहरुको माग थियो । तर अब यो अप्रिय फैसलालाई उहाँहरुले विरोध गर्ने ठाउँ पाउनुभएको छैन । किनभने एक हप्ताभित्रैका दुईमध्ये आफूलाई मन परेको फैसला मान्ने नपरेको विरोध गर्नु राजनीतिक चरित्रले दिएन । यसैले घर फर्किनुभएका उहाँहरुका आगामी कदम के होलान् भन्ने अनुमान मात्र पनि अहिले गर्न सकिएको छैन । यदि यो नेकपा कानुनी रुपमा चिनिएन भने अब एमाले पनि नचिनिने अवस्था आएको छ ।
किनभने यो पार्टीको पनि महाधिवेशनको म्याद सकिएको छ । संविधानले ६ महिनामात्र चिन्छ यस्तो दललाई अब एमालेलाई कहिलेसम्म चिन्ने हो एकाध दिनमै थाहा होला । यो प्रसंगको यहाँको आसय यो हो कि माधव नेपालहरुको अबको बाटो तत्कालै महाधिवेशनको माग गर्ने र ओली इतरको हिजोको गठबाट अंश खोज्ने । अर्थात् आफू अध्यक्षमा उठ्ने तयारी गर्ने । यसबाट पार्टीमा आउन सकिन्छ । तर यो भन्दा पनि अघि सरकारको हैसियतमा हो उहाँहरुले प्रश्न उठाउने । प्रधानमन्त्रीको निरन्तरता दिने कि विपक्षीसँग मिलेर सरकार ढाल्ने । किनभने अब उहाँहरुलाई खुलेआम सरकारको विरोध गर्न गाह्रो छ, पार्टी अध्यक्षले कारबाही गर्न सक्छन् ।
अनि सरकारका विपक्षमा मत हाल्न पनि गाह्रो छ किनभने यसमा त झन् पार्टीबाट निष्कासन गर्ने खतरा रहन्छ । त्यसो भए सरकारले विश्वासको मत लिन मतदान गर्नुपर्दा उहाँहरुले मुटुमाथि ढुंगा राखेर ओलीप्रति मत जाहेर गर्नुपर्नेछ । अबका बाटोहरु त भोलि नै कोरिएलान् । तर अहिलेको पार्टीमा बसाइले माधव नेपाल र उहाँको समूहका सदस्यलाई गाह्रो छ । उहाँबिना कसै कसैलाई एमाओवादीमा गाह्रो त नहुन सक्छ तर उहाँको पुनरागमनले भने एमालेका अरु कसैलाई मुस्किल हुनसक्छ ।
फेरि त्यसको परिणाम पनि अन्ततः फुट नै हो भने यो अझ ठूलो र अर्को दुर्भाग्य होला । यो भावुक विदाईले मनको बाँध त्यहाँसम्म नबगोस् भन्ने कामना कार्यकर्ताको भए पनि फुट्न नसक्नेमा माधव र उहाँका सारथिहरु ढुक्क देखिन्नन् ।











