२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर



फाईल फोटो
अ+ अ-

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै हुनुहुन्छ । उहाँले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहनुभएको छ ।

भोजबहादुरलाई उहाँकी श्रीमतीले साथ दिइरहनुभएको छ । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पाल्नुभएको छ । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताउनुभयो । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उहाँको भनाइ थियो ।

बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्नुहुन्छ । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउनुहुन्छ ।

भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गर्नुभएको छ । प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलिरहेका उहाँले जानकारी दिनुभयो ।

चार वर्ष माल्दिभ्स र एक वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किनुभएका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक रू ५० हजारदेखि रू ७० हजार आम्दानी हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।

“विदेशमा १४ घण्टा खटेर मुस्किलले रू ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमभन्दा बढी आम्दानी भइरहेको छ”, भोजबहादुरले भन्नुभयो, “छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

बोहराको तरकारीखेतीको सिको गर्नेले अहिले गाउँमा एक/दुई वटा प्लाष्टिकका घरमा बनाएर तरकारीखेती गरिरहेका जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताउनुभयो । यसरी खेती गरेर सामान्य घरखर्च चलाउनेहरु पालिकामा बढिरहेका उहाँको भनाइ थियो ।

बोहराले स्थानीय बाँस प्रयोग गरी प्लाष्टिकका घर बनाउनुभएको भन्दै उहाँले स्थानीय जातका तरकारी खेतीलाई प्राथमिकता दिने गर्नुभएको शर्माले जानकारी दिनुभयो । रासस