५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला



अ+ अ-

भैरहवा । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उहाँ दैनिक देखिनुहुन्छ । कहिले दर्शकदीर्घाबाट, कहिले विशिष्ठ व्यक्ति बस्ने प्यारापिटबाट उहाँ खेल नियालिरहेको भेटिनुहुन्छ । “आफ्नै नगरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, यहाँ नआएर भयो त रु”, बुधबार हर्षित मुद्रामा भेटिनुभएका श्रेष्ठले भन्नुभयो ।

नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको अहिले भैरहवामा जमघट भएको छ । भैरहवामै राष्ट्रिय टोलीका खेलाडी पाएपछि यहाँका प्रंशसक पनि हौसिएका छन् । दर्शक नै नपाउने सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले दर्शकले भरिभराउ छ । भैरहवामात्र होइन, रुपन्देहीका ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न र राष्ट्रिय खेलाडीलाई भेट्न दर्शक भैरहवा आइपुग्ने गरेका छन् ।

खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन् । खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन् । दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ ।

सिद्धार्थ क्रिकेट रङ्गशाला दर्शक र राष्ट्रिय खेलाडीको मिलन गराउने माध्यम बनेको छ । पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको प्रधानमन्त्री कप प्रतियोगिताले भैरहवा क्रिकेटमय भएको छ । खेलाडी पनि काठमाडौँ बाहिर नयाँ खेलमैदान पाएपछि दङ्ग छन् ।

त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी विनोद भण्डारी केही वर्षयता नै सिद्धार्थ रङ्गशाला परिवर्तन भएको प्रतिक्रिया दिनुभयो । “म करिब अढाइ वर्षअघि यहाँ घरेलु प्रतियोगिता खेल्न आएको थिएँ, यो अढाइ वर्षमा यहाँ धेरै परिवर्तन भइसकेको छ”, भण्डारीले भन्नुभयो, “पिच राम्रो बनेको छ, ‘आउटफिल्ड’ एकदमै राम्रो बनेको छ, दर्शकका लागि ‘स्टेण्ड’ पनि बनिसकेको रहेछ, यो यही रोकिनु भएन अझै अगाडि बढ्नुपर्छ ।”

उहाँले अहिले काठमाडौँमा मात्र अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा अब भैरहवा पनि यस्तो खेल खेलाउन सक्षम रहेको बताउनुभयो । भण्डारीले भैरहवाको पिच खेल्न योग्य रहेको बताउनुभयो । गत पुस २८ गतेदेखि प्रधानमन्त्री कप सुरु भएदेखि नै भैरहवाको पिचले घाम हेर्न पाएको थिएन । यसले गर्दा यहाँ रन धेरै बन्न सकेको थिएन । पिच राम्रो हुनलाई पानी र घाम हुनुपर्छ यसले ब्याटरहरूलाई रन बनाउन सहयोग गर्छ । आर्मीका कप्तान विनोद भण्डारीका अनुसार सिद्धार्थ रङ्गशालाको पिचले घाममात्र पाएको भए यहाँ उच्च अङ्क बन्ने थिए ।

आर्मीका कप्तानको जस्तै धारणा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका सशस्त्र प्रहरीका रोहित पौडेलको पनि छ । उहाँले पनि भैरहवाको खेलमैदान राम्ररी तयार गरेको प्रतिक्रिया दिनुभयो । “विशेषगरी आउटफिल्ड खेल्नका लागि साह्रै राम्रो छ, पिचले घाम पनि पाएको छैन, यस्तो अवस्थामा पनि यति राम्रो विकेट तयार गर्नुभएको छ”, पौडेलले भन्नुभयो, “आउने दिनमा यहाँ अझै राम्रा खेल हुँदै जाउन्, हामी यहाँ नेपालका लागि खेल्न चाहन्छौँ ।”

पौडेल पिच तयार भइसकेको अवस्थामा रङ्गशालालाई विस्तारै विकसित गरी लैजान सकिने बताउनुहुन्छ । “सिद्धार्थ क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका खेल हुने पिच छ”, उहाँले भन्नुभयो, “अब यसलाई ‘अपडेटेड’ गरेर यहाँको समिति कसरी अगाडि बढ्छ, त्यो महत्त्वपूर्ण पाटो हो ।”

सिद्धार्थ रङ्गशालामा अहिले छवटा पिच रहेका छन् । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन् । आठ वर्षअघि गुरुयोजनासमेत तयार भएको रङ्गशालामा अहिलेसम्म करिब रु १० करोड खर्च गरिसकिएको उहाँले बताउनुभयो । आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ ।

करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको आठ वर्षअघि गुरुयोजना तयार भए पनि अहिलेसम्म करिब १० प्रतिशत मात्र काम हुनसकेको नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइ छ । तत्कालीन समयमा रु ३८ करोड लागत अनुमान गरिएको थियो । अहिले यसलाई पुन:मूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । रासस