२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित



हावाहुरी/ फाइल फोटो
अ+ अ-

कञ्चनपुर। “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।”

शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि(बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भन्नुभयो, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो विचल्ली बनाइदियो ।”

शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ । हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पु¥याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो ।

शुक्लाफाँटा –९ वडाध्यक्ष रमेशबहादुर ऐरकाअनुसार हुरीले अधिकांश घरका जस्तापाताका र टायलका छाना उडाएको छ । त्यसलगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्नलगायत भिजाएर कामै नलाग्ने बनाएको छ ।

“धेरै परिवार अहिले समस्यामा छन्,” अध्यक्ष ऐरले भन्नुभयो, “कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही परिवार अझै अस्थायी व्यवस्थामा खुला आकास बसिरहेका छन् ।” हुरीले विद्युत् संरचनामा पनि ठूलो क्षति पु¥याएको छ । वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन्, केही भाँचिएका छन् । २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

“घर तथा गोठका छानामात्र होइन, विद्युत् संरचनामा  व्यापक क्षति पुगेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “वडाभरि जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन्, करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ ।” उहाँका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति पुगेको छ ।

क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालित भएका छन् । ढलेका पोल हटाउने, नयाँ पोल गाड्ने तथा लाइन विस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ । “विद्युत् आपूर्ति पुनःसञ्चालनका लागि आवश्यक काम भइरहेको छ,” अध्यक्ष ऐरले भन्नुभयो, “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।”

हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ । प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै राहत तथा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष ऐरको भनाइ रहेको छ ।

स्थानीयवासीका अनुसार केही मिनेट चलेको हावाहुरीले वर्षौँको मेहनतले बनाएको संरचनामा ठूलो क्षति पु¥याएको छ । विशेषगरी न्यून आय भएका परिवार बढी प्रभावित भएका छन् । स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत र पुनःस्थापनाको पहल गर्ने जनाएको छ । रासस