• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्योः अध्यक्ष लिङदेन



file photo

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, काँग्रेस लगायतका पार्टी र नेताहरु भन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गर्नुभयो । उहाँले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताउनु भयो । उहाँले धर्मबिहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष लिङदेनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सिमित हुने बताउनु भयो । उहाँले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धर्म राजनीति अलग कुराहरु हुन् भनेर हामीलाई गाली गर्ने मानिसहरु पनि छन् । तर हामी सधैँ भन्छौँ, धर्मबिहीन राष्ट्रियता पनि हुन सक्दैन र राजनीति पनि हुन सक्दैन । धर्म र राजनीति वा राष्ट्रियता र धर्मलाई अलग राख्यो भने के हुन्छ भन्नेकुरा अहिले देखिरहनुभएको छ । धर्मलाई राजनीतिसँग अलग गर्दा, धर्मलाई राजनीतिसँग अलग ढंगले बुझ्दा मानिसहरुलाई आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाइ पैसा कमाउने बुद्धि आउँछ । धर्मसहितको राजनीति गर्नुपर्छ, धर्म बिनाको राजनीति हुँदैन भनेर हिँड्ने थोरै मान्छे छन् । हिन्दु धर्म, राष्ट्र वा हिन्दु अधिराज्य त्यो चिज माला जपेर नारा लगाएर मात्रै आउँदैन ।’

‘त्यसका केही पद्धति र प्रक्रियाहरु छन् । त्यसको लागि तपाईहरुले दिलदेखि मत परिवर्तन गर्नुपर्छ । मैले चुनाव जितेँ भने नेपालमा हिन्दु अधिराज्य कामय गर्छु भनेर आएको व्यक्तिलाई जिताउनुपर्छ । पार्टी र नेताहरुलाई दोष दिएर हुँदैन । नेताहरुको बाध्यता थियो होला, बिके होलान्, सत्ता मोहमा परे होलान् । तर तपाईले ति पार्टीहरुलाई, ति धर्मनिरपेक्ष बनाउनेहरुलाई भोट नदिएको थियो भने कसरी बनाउँथे । नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ति पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा काँग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’

अध्यक्ष लिङदेनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चहेर मात्रै धर्म निरपेक्षता नआएको बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन दाहाल भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनु भयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो राप्रपा कम्युृनिष्टसँग के कम्युनिष्टसँग भन्नु एमालेसँग बढी मिल्छ भन्ने पीर पिराउ छ, काँग्रेसीजनहरुलाई । चन्द्रजीसँग राम्रो सम्बन्ध छँदैछ । अब चन्द्रजी जस्तो तपाईहरु सबै हुनुभयो भने त तपाईहरु सबैसँग मिलिहाल्छौँ नि । सरकारमा जाँदा भन्दै हुनुहुन्थ्यो, सरकारमा जाँदै नजानु त भन्न मिल्दैन, तर माओवादीलाई नै किन भनेर प्रश्न गर्नेहरु मैले भेटेँ । मैले माओवादी अथवा प्रचण्डलाई किन नमान्नुपर्ने भनेको गणतन्त्र ल्याउने, धर्म निरपेक्षता ल्याउने, संघीयता ल्याउने भनेको यही प्रचण्ड हो । तिमीहरु यही चिजको बिरोध गर्छौं अनि यसैलाई मान्छौ भने । मैले भने र आज पनि भन्छु, प्रचण्डले त सिधा इमान्दारितासँग भनेका थिए, आन्दोलन घोषणा गर्दै ।’

‘गणतन्त्र, धर्म निरपेक्षता चाहिन्छ भन्ने उनै हुन् । प्रचण्डले चाहेर मात्रै आउँथ्यो, आउँदैन थियो । काँग्रेसले लाहछाप हानेपछि आएको हो । र नेपालले यो दुर्गति व्यहोर्नुपरेको हो । त्यसकारण प्रचण्ड भन्दा बढ्ता दोषी काँग्रेस हो । कि काँग्रेस सच्चिनुपर्छ की हामी सबै मिलेर यो काम लाग्दैन भनेर सक्नुपर्छ । राष्ट्रिय सभामा पनि घुमिफिरी एमाले र राप्रपा मिल्यौँ । एमालेले हामी मिल्दा प्रतिष्पर्धा हुने रहेछ, तपाईहरु एक सिट लिनुस्, हाम्ी एक सिट लिन्छौँ भन्छ, हाम्रो सानो सिट संख्यालाई पनि बराबरको मान्यता दिन्छ । काँग्रेस भन्ने पार्टी राप्रपालाई अछुत जस्तो व्यवहार गर्छ अनि हामी उसको भैया पार्टी भएर जान्छौँ त ? हिन्दु अधिराज्य मानौँ, राजालाई कुनै न कुनै ठाउँको स्थान दिलाऔँ, प्रदेश खारेज गरौँ । बाक्लो जनप्रतिनिधि घटाऔँ । न्यायाधीश योग्यता, क्षमताको आधारमा नियुक्ति गर्ने व्यवस्था मिलाऔँ । काँग्रेस त्यसमा मञ्जुर हुन्छ भने राप्रपा काँग्रेसको भाइ भएर हिँड्न तयार छ ।’

अध्यक्ष लिङदेनले राप्रपालाई समान व्यवहार गर्नेहरुसँग आफू मिलेर जाने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल