• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी ★   हुम्लाका तीन बस्ती अन्धकारमा ★   तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण ★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा ★   यस्तो छ सरकारको नीति तथा कार्यक्रम- पूर्णपाठ सहित ★   नीति तथा कार्यक्रम: थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ ★   सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा ★   प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने ★   सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ? ★   नीति तथा कार्यक्रम: सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिने 

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात



भेरीगङ्गा । कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म रु १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोड ७५ लाख ३० हजारको कृषि वस्तु आयात भएको हो । कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ । चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा रु २१ करोड ४९ लाख ५६ हजारको तरकारी आयात हुँदा रु ९४ लाख ५० हजारको मात्रै तरकारी निर्यात भएको छ ।

दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छभने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ । प्रदेशमा रु तीन करोड १३ लाख १० हजारको खाद्यान्न वस्तु आयात हुँदा कर्णालीबाट रु ४४ लाख १६ हजारको निर्यात हुने गरेको छ ।

आलु रु नौ करोड ९९ लाख दुई हजारको आयात भएको छ । कर्णालीबाट रु २८ लाख २४ हजारको आलु निर्यात भएको छ । फलफूल रु ३५ करोड ५८ लाख ९४ हजारको फलफूल आयात हुँदा रु नौ करोड ७४ लाख छ हजारको निर्यात भएको छ ।

त्यसैगरी, मसला बाली रु दुई करोड १३ लाख २९ हजार, च्याउ रु २० लाख २९ हजार र अन्य रु १० लाख १९ हजारको आयात भएको छ । कर्णालीबाट मसलाबाली रु छ लाख ८२ हजार, च्याउ रु पाँच हजार र अन्य रु ३३ हजारको निर्यात भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आवको छ महिनामा दश हजार मेट्रिकटनभन्दा धेरै कृषि वस्तु आयात भएको छ । त्यसमा खाद्यान्नबाली ५५ दशमलव दुई मेट्रिकटन चालु आवको छ महिनामा निर्यात भएको छ । त्यसैगरी, तरकारी तीन सय १५ दशमलव तीन मेट्रिकटन र आलु एक सय ४१ मेट्रिकटन निर्यात भएको उहाँको भनाइ छ ।

कर्णालीबाट सबैभन्दा धेरै फलफूल निर्यात भएको छ । फलफूल करिब एक हजार तीन सय ९६ दशमलव एक मेट्रिकटन निर्यात भएको जनाइएको छ । त्यसैगरी, मसलाबाली १० दशमलव पाँच मेट्रिकटन, च्याउ शून्य दशमलव तीन मेट्रिकटन र अन्य शून्य दशमलव छ मेट्रिकटन निर्यात भएको निर्देशक रोकायले बताउनुभयो । उहाँका अनुसार कर्णालीमा अधिकांश कृषि वस्तु भारतबाट आयात हुने गरेका छन् । त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ ।

कर्णालीका पाँच जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ । सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । प्रदेशमा कृषि क्षेत्रमा वार्षिक अर्बांै बजेट विनियोजन हुने गरे पनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञले बताएका छन् । रासस