• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य



काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढि व्यवसाय तथा फर्म आबद्ध छन् ।

सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताउनुभयो । उहाँले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउदै अति नै मितव्ययी रहेकोले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गर्नुभएको थियो ।

क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भन्नुभयो ‘ परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौँ । पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौँ ’। 

कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताउनुभयो । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।