७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुनेछ- सांसद राजकिशोर यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएको बताउँदै रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताउनु भएको हो । 

चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक बेइमानी हुने उहाँको भनाइ छ । थारुहट आन्दोलनका सबै आन्दोलनकारीलाई राजबन्दीसरहको व्यवहार हुनुपर्ने र राजनीतिक समस्याको रुपमा लिएर समस्या समाधान गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी संविधान संशोधनका कुरा गर्दा तपाईहरु सरकारमा आइदिनु पर्‍यो । हामी रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको विषय बनाउँछन् । मलाइ लाग्छ, रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुदैन । त्यो शर्तको रुपमा बुझ्नु हुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो । राजबन्दी हो । त्यसलाई त्यही राजबन्दी सरह व्यवहार गरेर जसरी सिके राउत सँग व्यवहार भयो । जसरी नेत्रविक्रम चन्द सँग व्यवहार भयो त्यसैगरी थारुहट आन्दोलनमा भएका सम्पूर्ण आन्दोलनकारीहरु सँग राजबन्दीसरह व्यवहार गरेर राजनीतिक समस्या जसरी समाधान हुन्छ त्यसरी गरेर समाधान गर्नुपर्छ । न कि त्यसलाई सरकारमा आउने जाने, सरकारको लेनदेनको विषय ।’

सांसद यादवले जसपा फुटको हल्ला मिडियामा आएको भन्दै कुनै लोभ लालचमा नफस्ने र पार्टीलाई नफुटाउने बताउनुभयो । जसपाले सही समयमा सही निर्णय लिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सहमतीको राजनीतिलाई अगाडी बढाउनुस् हाम्रो दल त्यसको लागि तयार छ । हाम्रो बारेमा मिडियामा जसरी कुरा आको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । जनता समाजवादी पार्टी एकढिक्का छ । र कसैको कारणले हामी फुट्नेवाला छैनौँ । हामी कुनै लोभ, लालचमा फस्नेवाला छैनौँ । हामी विवेकपूर्ण, देशको हितमा हामी यो मुलुकलाई अगाडी बढाउनको लागि सही समयमा सही निर्णय लिन्छौँ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेकपाभित्रको विग्रह र फुटको कारण संसदमा अस्थिरता आएको भन्दै अस्थिरतालाई नियन्त्रण गर्न नसके प्रतिगामी शक्तिको चलखेल हुने बताउनुभयो । यसबाट लोकतन्त्र,गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, जनजिवनमा क्षति हुने भएकाले सबैको ध्यान जानुपर्ने उहाँको भनाई छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरणले मात्रै वर्तमान अस्थिरतालाई चिर्न सक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘नयाँ जटिलतालाई चिर्नको निम्ति फेरीपनि अझै गम्भिर हुन जरुरी छ । अहिले देशमा जुन जटिलता र अस्थिरताको वातावरण जुन निर्माण भएको छ । त्यसको समाधान पुन सर्वोच्च अदालतको फैसला अनुसार बेग्लाबेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ ।’

नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद पुर्नस्थापना पछि सांसदहरुको खरिद हुने चिन्ता जनतामा रहेको बताउनुभयो । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिदा देश अस्थिरतामा जाने भएकाले नेमकिपा संसद विघटन र चुनावको पक्षमा उभिएको उहाँले स्पष्ट पार्नुभयो । मन्तव्यको क्रममा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुनेको पनि दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको नेपाली भुमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधि सभा पुर्नस्थापना गरिएको अनुमान गरिएको सुनिन्छ । यस्तो देशघाति काम नेपाली जनतालाई स्वीकार्य छैन । भारतसँगको खुल्ला सिमाना बन्द गर्नुपर्ने सांसद सुवालको भनाई छ । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।