२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद : एक वर्षमा एउटा मात्र कानुन, तलब–भत्तामा मात्र ६३ करोड खर्च



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय संसद्को एकवर्षे कार्यकालमा पदाधिकारी र सांसदको तलब–भत्ता र भ्रमणमा ६३ करोड खर्च भएको छ । तर, दुई अधिवेशन बसेको यस अवधिमा कानुन भने एउटा मात्रै बनेको छ ।

प्रतिनिधिसभाका निर्वाचित सदस्यहरूले ७ पुस ०७९ मा शपथ लिएपछि संघीय संसद्ले औपचारिक रूपमा काम थालेको थियो । हाल प्रतिनिधिसभामा २७४ र राष्ट्रिय सभामा ५९ गरी कुल ३३३ सांसद कायम छन् । प्रतिनिधिसभामा एक सांसद रिक्त र दुई निलम्बित छन् । ७ पुस ०७९ देखि ७ पुस ०८० सम्म बसेका संसद्का दुई अधिवेशनले वार्षिक बजेट पारित गर्नेबाहेक मिटरब्याजसम्बन्धी एउटा कानुन मात्रै बनायो ।

दुवैै अधिवेशनमा सांसद र पदाधिकारीको बैठकभत्तामा चार करोड १५ लाख १६ हजार खर्च भएको छ । जसमध्ये पहिलो अधिवेशनमा एक करोड २५ लाख ८७ हजार र दोस्रोमा दुई करोड ८९ लाख २९ हजार खर्च भएको सांसदहरूको उपस्थितिले देखाउँछ । त्यस्तै, पदाधिकारी र सांसदको पारिश्रमिकसहितको अन्य सुविधामा ५६ करोड ९८ लाख ४५ हजार २७२ खर्च भएको छ । जसमध्ये पदाधिकारीको मात्रै १२ करोड ८४ लाख ४० हजार ५७२ र सांसदका लागि ४४ करोड १४ लाख चार हजार सात सय खर्च भएको छ ।

यसबाहेक सांसदहरूले संसदीय समितिको बैठकमा उपस्थित भएको छुट्टै प्रतिबैठक दुई हजार भत्ता पाउँछन्, जुन यो खर्चमा जोडिएको छैन । त्यस्तै, संघीय संसद्का पदाधिकारी तथा सांसदको वैदेशिक र आन्तरिक भ्रमणमा कम्तीमा दुई करोडभन्दा धेरै खर्च भएको छ । दोस्रो अधिवेशनका क्रममा भएका वैदेशिक भ्रमणमा एक करोडभन्दा धेरै खर्च भएको संसद् सचिवालयले जनाएको छ । पहिलो अधिवेशनमा भएको वैदेशिक भ्रमणको खर्च भने सचिवालयले लुकाएको छ ।

स्रोतका अनुसार दोस्रो अधिवेशनकै हाराहारीमा खर्च भएको छ । त्यस्तै, देशभित्रका भ्रमणमा पहिलो अधिवेशनमा ११ लाख र दोस्रो अधिवेशनमा २३ लाख ३१ हजार गरी ३४ लाख ३१ हजार खर्च भएको सचिवालयले जनाएको छ । संसद् सचिवालयको प्रशासनिक खर्च मासिक करिब दुई करोड हुन्छ । त्यस्तै, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा तिर्नुपर्छ । पदाधिकारी र सांसदको तलब–भत्ता तथा सचिवालयको प्रशासनिक खर्च जोड्दा एकवर्षे कार्यकालमा एक अर्बभन्दा धेरै खर्च भएको छ । संसद् सचिवालयका एक पदाधिकारी भन्छन्, ‘संसद्का पदाधिकारी र सांसदका लागि गरेको खर्चबाहेक प्रशासनिकलगायत संघीय संसद्को सिंगो खर्च जोड्ने हो भने एक अर्ब नाघ्छ ।

कानुन निर्माणको हिसाबले हेर्ने हो एक अर्बमा एउटा मात्रै कानुन बन्नु लज्जास्पद छ । यो त संविधानसभाले अर्बौँ खर्चेर संविधान बनाएजस्तै भयो ।’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भने संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार संसद् सञ्चालनमा खर्च भएको बताउँछन् । ‘ऐनअनुसार संसद्का पदाधिकारी, सदस्यको सुविधा र प्रशासनिक कार्यमा बजेट खर्च हुन्छ । यो सदन सञ्चालनको नियमित प्रक्रिया हो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फोटो -रासस