• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

जाजरकोट भूकम्प : चिसोले तीन बालबालिकासहित ३५ जनाको ज्यान गयाे



file photo

जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले अत्यधिक चिसोका कारण बुधबार ज्यान गुमाउनुपर्‍यो ।

मङ्सिर १७ गते सुत्केरी भएकी कल्पना बिरामी हुनुहुन्थ्यो । “भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं”, कल्पनाका श्रीमान गोपे सुनारले भन्नुभयोे, “सुत्केरी भएदेखि नै बिरामी थिइन, चिसोले मुख र जीउ सुन्निएको थियो, ठीक भइहाल्ला भनेर गाउँघरकै ओख्तो (औषधि) गर्न तिर लाग्यौं, मृत्यु नै होला भन्ने सोचेको थिएन ।”

स्वास्थ्य संस्थामा पनि राम्रोसँग उपचार नहुने गरेको उहाँले गुनासो गर्नुभयो । “सुविधासम्पन्न अस्पतालसम्म लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौँ”, सुनारले भन्नुभयो ।

चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा धेरैजसो निमोनिया र दमका रोगी भएको निधन भएको स्वास्थ्यकर्मी बताउँछन् ।

चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्पपछि त्रिपालको बसाइले चिसोका बिरामी बढ्दै गएको नलगाड कैना स्वास्थ्य चौकीका इञ्चार्ज हेमा पुनले बताउनुभयो । चिसोबाट बिरामी भएर दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो ।

चिसोले निकै सताएको बारेकोट गाउँपालिका–५ की रमिता सिंहले बताउनुभयो । चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उहाँले बताउनुभयो । त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उहाँले बताउनुभयो । नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायत गाउँमा चिसोले बिरामी बढेको नलगाडका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताउनुभयो ।

नगर अस्पताल दल्लीमा कार्यरत डा विशाल उप्रेती बिदामा बसेका र बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पतालबाट डा अविनव टिङ्करीलाई पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो ।

अरू ठाउँभन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब चार सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको डा भारतीको भनाइ छ । जुनीचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दाले बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । औषधि नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधि अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामीको सङ्ख्या बढ्दै गएको भए पनि औषधि नभएको बताउनुभयो । उहाँका अनुसार चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । औषधि नहुँदा उपचार गर्न नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले नि:शुल्क पाउने औषधिसमेत दिन नसकेको शाहीले बताउनुभयो ।

जुनीचाँदे–६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताउनुभयो । उहाँले गाउँपालिकामा औषधिको माग गरे पनि आउन नसकेको जनाउनुभयो । चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । जुनीचाँदेका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्यधिक चिसो हुने गर्छ ।

जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ । जुनीचाँदेका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधि खरिद नगरेको र जिल्लाले औषधि नपठाएकाले समस्या भएको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधि पठाइएको तर जुनीचाँदेले औषधि नै माग नगरेको बताउनुभयो । औषधिको मौज्दात सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उहाँको भनाइ छ । रासस