७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको कामलाई प्रभाबकारी बनाउने बारे समिति सभापति र सभामुखबीच छलफल



अ+ अ-

काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुख बीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् ।

गत साउन ५ गते पछि समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरुले नियमित छलफलको रुपमा भएको बताएका छन् । बैठक पछि बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो– ‘समितिलाई प्रभावकारी बनाउनु भनेको संसदलाई प्रभावकारी बनाउनु नै हो । र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार यसलाई कामयावि कसरी बनाउने ? परिणाममुखी कसरी बनाउने, जनमुखी कसरी बनाउने र सिंगो संसदलाई नै प्रभावकारी ढंगबाट कसरी अगाडी बढाउने ? हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरु भएकाले कानुन निर्माँणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? सम्बन्धित सरोकारवालासँग पनि बहस गरेर जाँदाखेरी त्यसका त्रुटीहरु कमी हुन्छ । 

कानुनको जनताले स्वामित्व ग्रहण गर्ने जनताले मेरो लागि बनेको हो भन्ने खालको कुराहरु पनि हुन्छ भन्ने सम्बन्धमा व्यापक रुपमा छलफल भयो । र हामीले दिनुपर्ने सुझाव, काम गर्ने शिलशिलामा भोगेका जुन अप्ठ्याराहरुलाई पनि सुधार गरेर कसरी जाने भन्ने कुराहरु भए ।’

सभामुख सापकोटाले सभापतिहरुको राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । विगतमा प्रतिनिधि सभाका समितिहरुले एकै विषयमा फरक फरक निर्देशन दिने र अर्को समितिमा विचाराधिन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढेपछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो ।