• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा

मौरी पालेर वार्षिक आठ लाख कमाउँदै केसी



दाङ । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित हुनुभएको छ ।

विगत डेढ दशकदेखि सो पेसा अँगाल्नुभएका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिनु भएको छ । माहुरीपालनबाट वार्षिक रु आठ लाख बचत गर्न सफल भएको उहाँले बताउनुभयो । सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ ।

आजभोलि महको सिजन भएकाले उहाँ माहुरी कर्ममा व्यस्त हुनुहुन्छ । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उहाँले बताउनुभयो । सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गर्नुभएका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । उहाँले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउनुहुन्छ ।

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । “तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो रु पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो रु आठ सयसम्म बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो

बुधबार माहुरी फार्ममा मह किन्नका लागि आउनुभएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताउनुभयो । “महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ”, उहाँले भन्नुभयो ।

केसीले फार्ममा हालसम्म रु एक करोडसम्मसम्म लगानी गरिसक्नुभएको छ । उहाँले माहुरीका घार र मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्नुहुन्छ । सबै खर्च कटाएर वार्षिक रु सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताउनुभयो ।

उहाँ माहुरी चरणका लागि कैलालीसम्म पुग्नुहुन्छ । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उहाँको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । उहाँ भन्नुहुन्छ, “सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ ।

हाल उहाँको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोख्नुभयो । रासस