२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमले फलाए नौ किलोको एउटै काउली



अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिनुहुन्छ । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आउनुभएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक हुनुभएको छ ।

उहाँको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिनुभयो ।

“फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो”, खत्रीले भन्नुभयो, “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।”

आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाउनुभयो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० लाख आम्दानी गर्दै आउनुभएको छ ।

“चार/पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”, खत्रीले भन्नुभयो

अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताउनुभयो । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाउनुभयो ।

तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताउनुभयो । रासस