• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैनः ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले एमाले प्रति जनताको विश्वास जगाएको बताउनुभएको छ ।

मङ्सिर १४ गते बैतडीको महाकाली नदी किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न गरेपछि काठमाडौं फर्कने क्रममा सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बैतडीदेखि पाँचथरसम्म सबै ठाउँमा नागरिकले अपार माया देखाएका बताउनुभयो ।

‘सबै ठाउँमा जनताको उपस्थिति हामीले त्यस्तै किसिमको पायौँ, यसले हामी अत्यन्त उत्साहित भएका छौँ’, उहाँले भन्नुभयो ।
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले जनताले एमाले प्रति आशा र विश्वास राखेका बताउनुभयो । त्यो विश्वासलाई एमालेले मर्न दिनु नहुने उहाँको भनाइ छ ।

नेकपा एमालेले आयोजना गरेको संकल्प यात्रा कसैको विरुद्ध नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्रो यो यात्रा कसैको विरुद्ध होइन, हाम्रो यात्रा अन्योल, अस्थिरता, राज्यको तर्फबाट जुन सेवा पाउनु पर्ने हो त्यो पाउन नसकेको स्थितिलाई चिर्न हो’, उहाँले भन्नुभयो ।

देशको अहिलेको अवस्थाको बारेमा जनतालाई यथार्थ जानकारी गराउने एमालेले संकल्प यात्रा आयोजना गरेको र त्यसमा सफलता मिलेको उहाँले बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक सद्भावना कायम गर्दै विकासका काम अघि बढाउनु पर्छ भन्ने कुरामा खबरदारी गर्न यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले ग्रामीण क्षेत्रमा जनताले कुनै पनि सेवा पाउन नसकेको कारण असन्तुष्टि बढेको उहाँले बताउनुभयो । एमालेले सुरु गरेका विकासका सबै काम ठप्प भएको उहाँले सुनाउनुभयो । अहिले मास फ्रस्टेसनको स्थिति सिर्जना भएको उहाँको भनाइ छ ।
नेकपा एमाले लोकतन्त्रमा विरोध गर्न पाइने कुरामा प्रष्ट रहेको तर हिंसालाई भने स्वीकार नगर्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । सबै असहमति शान्तिपूर्ण रूपमा राख्नु पर्ने र संवैधानिक हिसाबले समाधान खोज्नु पर्नेमा उहाँको जोड छ । ‘मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन, नेकपा एमाले त्यसको विरुद्धमा रहन्छ’, उहाँले भन्नुभयो ।

विधिसम्मत ढङ्गले कसैले पनि यो भएन यो हुनुपर्छ भन्न सक्ने भए पनि जबरजस्ती गरेर कुनै पनि समस्या समाधान नहुने उहाँले बताउनुभयो । कोशी प्रदेशको नामाकरण संवैधानिक हिसाबले नै भएको र असन्तुष्टि भए संवैधानिक बाटोबाट नै समाधान गर्न उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले समृद्धिको लागि संकल्प यात्रा औपचारिक ढङ्गले समापन भएको भए पनि सो यात्राका क्रममा प्राप्त विषयवस्तुलाई निरन्तर अघि बढाउने उहाँले बताउनुभयो । जनताले सेवा प्राप्त गर्न नसक्ने अहिलेको स्थितिका विरुद्ध एमालेको अभियान निरन्तर हुने उहाँले प्रष्ट पार्नुभयो ।