• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राजघराना त्याग गरेका बेलायती राजकुमार ह्यारीले सुरु गरे नयाँ जागिर



एजेन्सी । बेलायती राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । राजघराना त्याग गरेका ह्यारीले क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा जागिर सुरु गरेका हुन् । 

उनलाई कार्यकारी अधिकृतको जिम्मा दिइएको छ । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।

राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा ह्यारी दम्पत्तिले बोल्दै आएका छन् ।

बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु रहेको छ।

उक्त कम्पनीमा राजकुकमार ह्यारीलाई कति तलब दिइनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन । कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।

कम्पनीले उपलब्ध गराएको प्रशिक्षणबाट आफू व्यक्तिगत रुपमा पनि लाभान्वित भएको ह्यारीले उल्लेख गरेका छन् । बेटरअप कम्पनीका कार्यकारी तहको जागिरका अलावा ह्यारी दम्पत्तिले आफ्नै कम्पनी पनि खोलेका छन् ।