चितवन । प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका छन् । उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भवनका लागि ५० हजार ५ सय, यस्तैं, प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदीले २५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका हुन् ।
उपाध्यक्षद्धयले चौतारीको भरतपुर ११ बसेनीमा रहेको भवन निर्माण स्थलमा नै पुगेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका अर्का उपाध्यक्ष राजेन्द्र ओलीले ३० हजार बरावरको प्लाष्ट्रिकका कुर्सी चौतारीलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
संघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकारहरुको संगठनको निर्माण भैरहेको भवनले आफूहरुलाई खुसी मिलेको भन्दैं आगामी दिनमा निरन्तर सहकार्य जारी रहने बताए । उनले पहिल्यैदेखि नै भवनका लागि सहयोग गर्ने चाहाना राखेको बताउँदै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकार आवद्ध संघसंस्थाहरुलाई संस्थागत र व्यक्तिगत रुपमा विगतदेखि नै सहयोग गर्दै आएको बताए । चौतारीको भवन निर्माणले संगठनको संस्थागत विकासमा सहयोग पुग्ने बताए । अर्का प्रथम उपाध्यक्ष सुवेदीले प्रेस चौतारीले देशकै पहिलो भवन बनाउन लागेकोमा आफूलाई खुसी लागेको बताए । सहयोग गर्ने मनाशय र भवन निर्माणको शुभेच्छा सधैं राखिरहेको भन्दैं उपाध्यक्ष सुवेदीले उद्योग बाणिज्य संघ चितवन र जिल्लाका पत्रकारहरुको बीचमा सौर्हादता सधैं रहँदै आएको बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले उद्योग बाणिज्य संघबाट संस्थागत र पदाधिकारीहरुबाट ब्यक्तिगत रुपमा मिलेको सहयोगले चौतारी परिवार खुसी भएको भन्दैं आफूहरुलाई साथ दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले विभिन्न क्षेत्र तथा ब्यक्तिहरुबाट मिलेको सहयोगले भवन निर्माणमा ठूलो टेवा पुगेको महसुस गरेको भन्दैं भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए । सो अवसरमा पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, प्रेस चौतारी केन्द्रीय निर्वाचन कमिटीका उपाध्यक्ष नवराज ढकाल, प्रदेश कमिटीका सचिवालय सदस्य गोविन्द घिमिरे, प्रदेश कमिटी सदस्य लक्ष्मण गौतम लगायतको उपस्थिती रहेको थियो । उद्योग बाणिज्य संघ चितवनले बुधवार प्रेस चौतारीको भवन निर्माणका लागि १ लाख सहयोग गरेको थियो ।
भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हलर तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।