२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक खण्ड: थप आठ पुल सञ्चालनमा ल्याउने तयारी



file photo
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार मङ्सिर महिनामा चार नयाँ पुल सञ्चालनमा आएका छन् । थप आठवटा पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चार वटा एक महिनामानै सञ्चालनमा आउँछ । आठ वटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ ।” ती पुलको पहुँचमार्ग बनाउने र रङगरोगन लगायतका काम भइरहेको छ ।

यही मङ्सिर महिनामा डुम्रे, चिसेन्जी, तोपे र लामो बालु्वाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल ६ महिनाभित्रमा सञ्चालनमा आउने छ । तुइन खोलाको पुल निर्माणका लागि भने भित्तो विस्फोट गर्नुपर्ने भएकाले थप समय लाग्ने उहाँले बताउनुभयो ।

गएको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो । आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो । पुलको मुग्लिन तर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरलाई विस्फोट गर्न लागिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।

प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमानै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको हो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमति प्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुन: गृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूताबासबाट पाएको जनाइएको छ ।

यससँगै विस्फोटक पदार्थ ल्याएर राख्नका लागि नेपाली सेनासँग रहेको बङ्कर मर्मत सम्भार गर्ने तयारी गरिएको छ । उहाँका अनुसार भरतपुरमा सेना सँग रहेको बङ्कर मर्मत गरेर त्यहाँ विस्फोटक पदार्थ राख्न लागिएको हो । दश टन विस्फोटक पदार्थ झिकाइदै छ । दुई महिनाभित्रमा विस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा विस्फोट गरी डाँडा भत्काउने तयारी छ । उहाँले भन्नुभयो “हाम्रो योजना अनुसार काम भएमा आगामी असार सम्ममा पुलनै बनिसक्छ ।”

यो खण्डमा पर्ने १९ पुलमध्ये चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगै निर्माण थालिएको हो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लो पटक थप गरिएको म्याद अगामी पुस १० गते सकिँदै छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजार भन्दाबढी सवारीसाधन आवतजावत गर्छन । वर्षाको समयमा दु:ख दिँदै आएको यो सडक विस्तार र पुल बनेपछि केही राहत हुँदै आएको छ । रासस