१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

चिनियाँ रेल, नेपालबाहेक सबै छिमेकीमा शुरु

चिनियाँ रेल, नेपालबाहेक सबै छिमेकीमा शुरु
अ अ+ अ-

काठमाडौँ । आर्थिक तथा राजनीतिकरुपमा विश्वमै महाशक्ति राष्ट्रका रुपमा उदय भइरहेको चीनले हरेक क्षेत्रमा फड्को मार्दै गएको छ । यसै वर्ष चीनले अन्तरिक्षमा आफ्नै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएर चकित बनाएको छ । उसले मङ्गल ग्रहमा पनि यान पठाएर तस्वीरहरु सङ्कलन गरिसकेको छ । 

यो अद्भूत कार्यका साथै चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एन्ड रोड (बिआरआई) नामको एउटा विशाल परियोजना अनेक चुनौती पार गर्दै निरन्तर अगाडि बढिरहेको छ । परम्परागत महाशक्ति राष्ट्रहरु अमेरिका र उसका सहयोगी राष्ट्रहरुको चासो र चिन्ताबीच यो परियोजनाले चीनलाई विश्वका अन्य राष्ट्रसँग सडक र रेलले जोड्दैछ । 
आज हामी यहाँ चीनको रेलसेवाका बारेमा केन्द्रित भएका छौँ ।
 
चिनियाँ रेल

चिनियाँ रेल विस्तार अभियान साँच्चिकै लोभलाग्दो छ । यो अभियानले चीनभित्रै मात्र होइन, छिमेकी मुलुकसँगै युरोपसम्म चिनियाँ रेलहरु पुग्न थालेका छन् । रेलसेवा विस्तारका सम्बन्धमा चिनियाँ सञ्चार माध्यमले दिनहुँजसो नयाँनयाँ खबरहरु प्रसार गरिरहेका छन् । तीव्र्र गतिका बुलेट ट्रेन बनाएर चीनका ठूला शहरलाई जोड्ने काममा चीनले महारथ हासिल गरेको छ । यात्रालाई सहज मात्र होइन, आरामदायी र तीव्र गतिको बनाएको छ । चिनियाँहरुका लागि लामो दूरीको यात्रा गर्न रेलसेवा एक भरपर्दो यातायातको साधन बनेको छ । 
एक रिपोर्टअनुसार चीनमा अहिले एक लाख ४६ हजार किमी लामो रेल सञ्जाल छ र यो विश्वकै दोस्रो ठूलो रेल सञ्जाल हो । जसमध्ये झण्डै ३८ हजार किलोमिटर तीव्र गतिको रेल सञ्जाल छ । पहिलो स्थानमा रहेको संयुक्तराज्य अमेरिकासँग एक लाख ५० हजार किलोमिटर रेल नेटवर्क छ । 

हरेक वर्ष चीनले रेल निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । चीनले दूरदराजका क्षेत्र एवं प्रान्तलाई रेलले जोड्ने अभियान नै सञ्चालन गरिरहेको छ । पहाड, पर्वत र हिमालयहरु छेडेर रेलसेवा विस्तार गरेको चिनियाँ इन्जिनियरिङले कतै पनि असम्भव छ भन्ने ठाउँ नै छाडेको छैन । टनेल र अग्लाअग्ला पुलको मद्दतले अद्वितीय रेल संरचना निर्माण गरिएको छ ।

यसै डिसेम्बर महिनामा चीनले कुनमिङसँग लाओसको राजधानी भिएन्टिनलाई जोड्ने झण्डै एक हजार किलोमिटर लामो तीव्र गतिको रेल निर्माण गरेको छ । यो रेलसेवाको मद्दतले लाओसमा पर्यटन र अन्य विकास निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास चीन र लाओस दुवै मुलुकले गरेका छन् ।  
 
इतिहास

चीनमा रेल कहिलेदेखि सञ्चालनमा थियो भन्ने जिज्ञासा जोकोहीलाई लाग्न सक्छ । वास्तवमा चीन एउटा सभ्यता नै हो, र यहाँ ज्ञान विज्ञान, साहित्य, कलाको विकास सदियौँदेखि हुँदै आएको छ । यहीक्रममा रेलसेवाको इतिहास पनि निकै लामो छ । आधुनिक चीन अर्थात् कम्युनिष्ट पार्टीले सत्ता लिनुअघि मंचु वंशकै पालामा रेल सञ्चालन हुन्थ्यो । जापानी, पश्चिमा देशहरुले चीनमा १९औँ शताब्दीमै चीनका प्रमुख शहरहरुमा रेल गुडाएका थिए । 

सन् १८६५ मा बेइजिङमा एक जना बेलायती नागरिकले चिनियाँहरुलाई रेल प्रविधिका बारेमा जानकारी गराउन एउटा नमूना रेल बनाएका थिए । तर त्यतिबेलाको क्वीङ सरकारले यसप्रति रुचि देखाएन र त्यसलाई भत्काइदियो । तर त्यसको झण्डै १० वर्षपछि शाङघाइदेखि बाओसान जिल्ला जोड्ने झण्डै १४ किलोमिटर लामो उसुङ रेल्वे सन् १८७६ मा शुरु भयो । क्वीङ सरकारको अनुमति बेगर नै बेलायतीहरुले यो रेल बनाएका थिए । तर यो रेलसेवा पनि क्वीङ सरकारले एक वर्षपछि नष्ट गरिदियो । चीन र जापानबीचको युद्धमा क्वीङ वंशको पराजयपछि मात्र चीनमा रेल निर्माणले स्थायी रुप लियो । सन् १८९५ देखि चीन सरकारले विदेशीहरुलाई रेल निर्माणको अनुमति दिन थाल्यो । 

सन् १९११ सम्ममा चीनमा झण्डै १००० किलोमिटर रेल निर्माण भयो । तर यी रेलहरु मुख्यतः विदेशीहरुले नै निर्माण र सञ्चालन गर्दथे । त्यस बखतको विश्वमा विकसित मुलुकहरुको दाँजोमा चीनमा रेलमार्गको सङ्ख्या र दूरी कमै थियो । एक विवरणअनुसार त्यस बखत अमेरिकामा झण्डै तीन लाख ८० हजार किलोमिटर रेलमार्ग थियो । चिनियाँहरु आफैँले सन् १९०५ देखि १९०९ सम्म बेइजिङ–झाङजियाकाओ रेल निर्माण गरेका थिए, र यसका प्रमुख इन्जिनियर झान टियानयुलाई चिनियाँ रेलमार्गका पिताका नामले चिनिन्छ । 

गणतन्त्रकालीन चीन

सन् १९१२ देखि १९४९ सम्मको अवधिलाई चीनमा गणतन्त्र काल भनिन्छ । यस अवधिमा चीनको आर्थिक तथा राजनीतिक स्थिति निकै तरल थियो । युद्ध, गृहयुद्ध, कम्युनिष्ट विचारधाराको उदय र वैदेशिक हस्तक्षेप खासगरी जापानले गरेको आक्रमणबाट चीन आक्रान्त थियो । यस समय निर्माण र सञ्चालन भएका रेलमार्गहरुलाई जापानले आफ्नो रणनीतिक महत्वका लागि प्रयोग गरेको थियो । सन् १९४५ सम्म चीनमा २७ हजार किलोमिटर रेलमार्ग थियो ।

सन् १९४९ पछिको चीन

चीनमा सन् १९४९ मा ठूलो क्रान्ति भयो, र माओत्से तुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले जापानको उपनिवेश विरुद्धको सङ्घर्षका साथै देशभित्रैका अन्य शक्तिलाई परास्त गरी कम्युनिष्ट शासन स्थापना गर्यो । माओ नेतृत्वको चीनले रेलमार्ग निर्माणमा ठूलै लगानी गरेको थियो । सन् १९५० देखि १९७० को दशकमा पश्चिम चीनलाई राष्ट्रिय मुलधारमा ल्याउने गरी व्यापक रेलमार्ग विस्तार गरिएको थियो । लान्झाओदेखि उरुम्की, बाओझीदेखि चेङ्दु जोड्ने रेल, चेङ्कुन रेल्वे, तिब्बत रेल्वे जस्ता महत्वाकाङ्क्षी रेल परियोजना सम्पन्न भए । अहिले चीनका सबैजसो प्रान्तहरु रेलमार्गको सञ्जालमा जोडिइसकेका छन् ।

प्रविधिमा फड्को

रेल्वे लाइनको विस्तारसँगै चीनले आफ्नो रेल्वेलाई आधुनिकीकरण र प्रविधियुक्त पनि बनाउँदै लगेको छ । सन् १९८० भन्दा अघि चिनियाँ रेल मुख्यतः स्टिम (बाफ) प्रविधिमा आधारित थिए । चीनमा पहिलो पटक सन् १९५८ मा डिजेल इन्जिन प्रयोगमा ल्याइयो । सन् १९८० र ९० को दशकमा मुख्य मुख्य स्थानका अधिकांश स्टिम इन्जिनलाई डिजेल र विद्युतीय इन्जिनमा रुपान्तरण गरिएको थियो । तैपनि कतिपय स्थानमा स्टिम इन्जिन प्रयोगमा थियो ।

रेलमार्गका क्षेत्रमा लगानी र प्रविधि भित्र्याउन आक्रामकरुपमा अघि बढेको चीनमा सन् २००४ सम्ममा ७४,२०० किलोमिटर रेलमार्ग निर्माण भयो । सन् १९९७ देखि चिनियाँ रेल्वेको गति पनि झण्डै छ गुणा बढेको थियो । एक्सप्रेस रेलको गति प्रतिघण्टा १२० किमीबाट प्रतिघण्टा २०० किमी पुगेको थियो । कतिपय मुख्य शहरी क्षेत्रलाई जोड्ने तीव्र गतिका रेलको बेग प्रतिघण्टा ३५० किलोमिटरसम्म थियो ।

सन् २०२० मा चिनियाँ रेल्वेले आफ्नो सञ्जाललाई ३३ प्रतिशतले थप विस्तार गर्ने योजना अघि सारेको थियो । देशका दुई लाखभन्दा बढी जनसङ्ख्या भएका सबै शहर, बजारलाई रेल्वेले जोड्ने यो योजनामा समेटिएको थियो । सन् २०३५ सम्ममा पाँच लाखभन्दा बढी जनसङ्ख्या भएका शहर, बजारलाई उच्च गतिको रेल्वेमार्फत जोडिने कार्यक्रम चिनियाँ रेल्वेको छ । सन् २०२० को जुलाई सम्ममा १० लाखभन्दा बढी जनसङ्ख्या रहेका ९० प्रतिशतभन्दा बढी शहरहरुमा तीव्र गतिको रेलसेवा उपलब्ध भइसकेको चिनियाँ रेल्वेले जनाएको छ । 

चीनको रेलसेवा लगभग पूरै सरकारी नियन्त्रणमा छ । एक तथ्याङ्कअनुसार सन् २०१९ मा चीनका झण्डै तीन अर्ब ६६ करोड मानिसले रेलबाट यात्रा गरेका थिए । यो चीनको कूल जनसङ्ख्याको अढाइ गुणाभन्दा बढी हो । अर्थात एक चिनियाँ नागरिकले एक वर्षमा अढाइ पटकभन्दा बढी रेलबाट यात्रा गरेको थियो । सोही वर्ष रेलबाट झण्डै चार अर्ब टन सामान ढुवानी भएको थियो । चीनको रेलसम्बन्धी दीर्घकालीन योजनामा सन् २०५० सम्ममा चीनको रेल सञ्जाल दुई लाख ७४ हजार किलोमिटर पुर्याउने लक्ष छ । सन् २०१५ को एकै वर्षमा चीनले नौ हजार किलोमिटर रेल निर्माण गरेर इतिहास नै रचेको थियो ।

अन्तर्राष्ट्रिय रेल नेटवर्क

चीनले आफ्नो देशभित्र रेल सञ्जाल तीव्ररुपमा विकास गरेसँगै छिमेकी देशसँग पनि रेल नेटवर्कले जोड्ने कार्यलाई निरन्तरता दिएको छ । हालसम्म चीनसँग कजाकस्तान, मङ्गोलिया, रसिया, हङकङ, भियतनाम र उत्तर कोरियासँग रेलसेवा सञ्चालनमा आइसकेको छ ।

लाओससँग भने यही डिसेम्बर महिनामा तीव्र गतिको रेलसेवा शुरु भएको छ । चीनको दक्षिणपूर्वको छिमेकी मुलुक लाओस भूपरिवेष्टित रहेकाले पनि लाओसको आर्थिक विकासका लागि यो रेलसेवा निकै महत्वपूर्ण छ । लाओस र चीनको युनान प्रान्तको राजधानी कुनमिङबीच झण्डै एक हजार किलोमिटर लामो रेल्वे लाइन निर्माण भएको छ । यो रेल्वे लाइनले लाओसको राजधानी भिएन्टिनलाई जोड्ने छ । यो आयोजना चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कै एक भाग रहेको चिनियाँ सञ्चार माध्यम सिजिटिएन टेलिभिजनले जनाएको छ । 

यो रेलसेवाको प्रारम्भसँगै लाओस अब भूपरिवेष्टित राष्ट्रबाट जमिनबाट एकअर्का मुलुकसँग जोडिएको मुलुक (ल्यान्डलिङ्क्ड) का रुपमा रुपान्तरण हुनेछ । लाओस सरकारले आफ्नो मुलुकलाई समृद्ध बनाउन र देशको अर्थतन्त्रलाई गतिशील बनाउन यस रेल्वे लाइनको निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ । करिब छ अर्ब डलरको यो परियोजनाका लागि चीनले करिब ७० प्रतिशत लगानी गरेको बताइएको छ । 

चीनले रसियाको सुदूर पूर्व, मकाउ, मध्य एसियाका किर्गिजस्तान र उज्वेकिस्तान तथा नेपालसँग रेलमार्गले जोड्ने योजना पनि बनाइरहेको छ । उता चीनले विश्वमै सबैभन्दा लामो दूरी (दोस्रो) को रेलसेवा पनि सञ्चालन गरिरहेको छ । यो रेल चीनको हार्बिनबाट शुरु भएर रसिया हुँदै युरोपको स्पेन पुग्दछ ।