• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा ★   बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक

चिनियाँ रेल, नेपालबाहेक सबै छिमेकीमा शुरु



काठमाडौँ । आर्थिक तथा राजनीतिकरुपमा विश्वमै महाशक्ति राष्ट्रका रुपमा उदय भइरहेको चीनले हरेक क्षेत्रमा फड्को मार्दै गएको छ । यसै वर्ष चीनले अन्तरिक्षमा आफ्नै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएर चकित बनाएको छ । उसले मङ्गल ग्रहमा पनि यान पठाएर तस्वीरहरु सङ्कलन गरिसकेको छ । 

यो अद्भूत कार्यका साथै चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एन्ड रोड (बिआरआई) नामको एउटा विशाल परियोजना अनेक चुनौती पार गर्दै निरन्तर अगाडि बढिरहेको छ । परम्परागत महाशक्ति राष्ट्रहरु अमेरिका र उसका सहयोगी राष्ट्रहरुको चासो र चिन्ताबीच यो परियोजनाले चीनलाई विश्वका अन्य राष्ट्रसँग सडक र रेलले जोड्दैछ । 
आज हामी यहाँ चीनको रेलसेवाका बारेमा केन्द्रित भएका छौँ ।
 
चिनियाँ रेल

चिनियाँ रेल विस्तार अभियान साँच्चिकै लोभलाग्दो छ । यो अभियानले चीनभित्रै मात्र होइन, छिमेकी मुलुकसँगै युरोपसम्म चिनियाँ रेलहरु पुग्न थालेका छन् । रेलसेवा विस्तारका सम्बन्धमा चिनियाँ सञ्चार माध्यमले दिनहुँजसो नयाँनयाँ खबरहरु प्रसार गरिरहेका छन् । तीव्र्र गतिका बुलेट ट्रेन बनाएर चीनका ठूला शहरलाई जोड्ने काममा चीनले महारथ हासिल गरेको छ । यात्रालाई सहज मात्र होइन, आरामदायी र तीव्र गतिको बनाएको छ । चिनियाँहरुका लागि लामो दूरीको यात्रा गर्न रेलसेवा एक भरपर्दो यातायातको साधन बनेको छ । 
एक रिपोर्टअनुसार चीनमा अहिले एक लाख ४६ हजार किमी लामो रेल सञ्जाल छ र यो विश्वकै दोस्रो ठूलो रेल सञ्जाल हो । जसमध्ये झण्डै ३८ हजार किलोमिटर तीव्र गतिको रेल सञ्जाल छ । पहिलो स्थानमा रहेको संयुक्तराज्य अमेरिकासँग एक लाख ५० हजार किलोमिटर रेल नेटवर्क छ । 

हरेक वर्ष चीनले रेल निर्माणको कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । चीनले दूरदराजका क्षेत्र एवं प्रान्तलाई रेलले जोड्ने अभियान नै सञ्चालन गरिरहेको छ । पहाड, पर्वत र हिमालयहरु छेडेर रेलसेवा विस्तार गरेको चिनियाँ इन्जिनियरिङले कतै पनि असम्भव छ भन्ने ठाउँ नै छाडेको छैन । टनेल र अग्लाअग्ला पुलको मद्दतले अद्वितीय रेल संरचना निर्माण गरिएको छ ।

यसै डिसेम्बर महिनामा चीनले कुनमिङसँग लाओसको राजधानी भिएन्टिनलाई जोड्ने झण्डै एक हजार किलोमिटर लामो तीव्र गतिको रेल निर्माण गरेको छ । यो रेलसेवाको मद्दतले लाओसमा पर्यटन र अन्य विकास निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास चीन र लाओस दुवै मुलुकले गरेका छन् ।  
 
इतिहास

चीनमा रेल कहिलेदेखि सञ्चालनमा थियो भन्ने जिज्ञासा जोकोहीलाई लाग्न सक्छ । वास्तवमा चीन एउटा सभ्यता नै हो, र यहाँ ज्ञान विज्ञान, साहित्य, कलाको विकास सदियौँदेखि हुँदै आएको छ । यहीक्रममा रेलसेवाको इतिहास पनि निकै लामो छ । आधुनिक चीन अर्थात् कम्युनिष्ट पार्टीले सत्ता लिनुअघि मंचु वंशकै पालामा रेल सञ्चालन हुन्थ्यो । जापानी, पश्चिमा देशहरुले चीनमा १९औँ शताब्दीमै चीनका प्रमुख शहरहरुमा रेल गुडाएका थिए । 

सन् १८६५ मा बेइजिङमा एक जना बेलायती नागरिकले चिनियाँहरुलाई रेल प्रविधिका बारेमा जानकारी गराउन एउटा नमूना रेल बनाएका थिए । तर त्यतिबेलाको क्वीङ सरकारले यसप्रति रुचि देखाएन र त्यसलाई भत्काइदियो । तर त्यसको झण्डै १० वर्षपछि शाङघाइदेखि बाओसान जिल्ला जोड्ने झण्डै १४ किलोमिटर लामो उसुङ रेल्वे सन् १८७६ मा शुरु भयो । क्वीङ सरकारको अनुमति बेगर नै बेलायतीहरुले यो रेल बनाएका थिए । तर यो रेलसेवा पनि क्वीङ सरकारले एक वर्षपछि नष्ट गरिदियो । चीन र जापानबीचको युद्धमा क्वीङ वंशको पराजयपछि मात्र चीनमा रेल निर्माणले स्थायी रुप लियो । सन् १८९५ देखि चीन सरकारले विदेशीहरुलाई रेल निर्माणको अनुमति दिन थाल्यो । 

सन् १९११ सम्ममा चीनमा झण्डै १००० किलोमिटर रेल निर्माण भयो । तर यी रेलहरु मुख्यतः विदेशीहरुले नै निर्माण र सञ्चालन गर्दथे । त्यस बखतको विश्वमा विकसित मुलुकहरुको दाँजोमा चीनमा रेलमार्गको सङ्ख्या र दूरी कमै थियो । एक विवरणअनुसार त्यस बखत अमेरिकामा झण्डै तीन लाख ८० हजार किलोमिटर रेलमार्ग थियो । चिनियाँहरु आफैँले सन् १९०५ देखि १९०९ सम्म बेइजिङ–झाङजियाकाओ रेल निर्माण गरेका थिए, र यसका प्रमुख इन्जिनियर झान टियानयुलाई चिनियाँ रेलमार्गका पिताका नामले चिनिन्छ । 

गणतन्त्रकालीन चीन

सन् १९१२ देखि १९४९ सम्मको अवधिलाई चीनमा गणतन्त्र काल भनिन्छ । यस अवधिमा चीनको आर्थिक तथा राजनीतिक स्थिति निकै तरल थियो । युद्ध, गृहयुद्ध, कम्युनिष्ट विचारधाराको उदय र वैदेशिक हस्तक्षेप खासगरी जापानले गरेको आक्रमणबाट चीन आक्रान्त थियो । यस समय निर्माण र सञ्चालन भएका रेलमार्गहरुलाई जापानले आफ्नो रणनीतिक महत्वका लागि प्रयोग गरेको थियो । सन् १९४५ सम्म चीनमा २७ हजार किलोमिटर रेलमार्ग थियो ।

सन् १९४९ पछिको चीन

चीनमा सन् १९४९ मा ठूलो क्रान्ति भयो, र माओत्से तुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले जापानको उपनिवेश विरुद्धको सङ्घर्षका साथै देशभित्रैका अन्य शक्तिलाई परास्त गरी कम्युनिष्ट शासन स्थापना गर्यो । माओ नेतृत्वको चीनले रेलमार्ग निर्माणमा ठूलै लगानी गरेको थियो । सन् १९५० देखि १९७० को दशकमा पश्चिम चीनलाई राष्ट्रिय मुलधारमा ल्याउने गरी व्यापक रेलमार्ग विस्तार गरिएको थियो । लान्झाओदेखि उरुम्की, बाओझीदेखि चेङ्दु जोड्ने रेल, चेङ्कुन रेल्वे, तिब्बत रेल्वे जस्ता महत्वाकाङ्क्षी रेल परियोजना सम्पन्न भए । अहिले चीनका सबैजसो प्रान्तहरु रेलमार्गको सञ्जालमा जोडिइसकेका छन् ।

प्रविधिमा फड्को

रेल्वे लाइनको विस्तारसँगै चीनले आफ्नो रेल्वेलाई आधुनिकीकरण र प्रविधियुक्त पनि बनाउँदै लगेको छ । सन् १९८० भन्दा अघि चिनियाँ रेल मुख्यतः स्टिम (बाफ) प्रविधिमा आधारित थिए । चीनमा पहिलो पटक सन् १९५८ मा डिजेल इन्जिन प्रयोगमा ल्याइयो । सन् १९८० र ९० को दशकमा मुख्य मुख्य स्थानका अधिकांश स्टिम इन्जिनलाई डिजेल र विद्युतीय इन्जिनमा रुपान्तरण गरिएको थियो । तैपनि कतिपय स्थानमा स्टिम इन्जिन प्रयोगमा थियो ।

रेलमार्गका क्षेत्रमा लगानी र प्रविधि भित्र्याउन आक्रामकरुपमा अघि बढेको चीनमा सन् २००४ सम्ममा ७४,२०० किलोमिटर रेलमार्ग निर्माण भयो । सन् १९९७ देखि चिनियाँ रेल्वेको गति पनि झण्डै छ गुणा बढेको थियो । एक्सप्रेस रेलको गति प्रतिघण्टा १२० किमीबाट प्रतिघण्टा २०० किमी पुगेको थियो । कतिपय मुख्य शहरी क्षेत्रलाई जोड्ने तीव्र गतिका रेलको बेग प्रतिघण्टा ३५० किलोमिटरसम्म थियो ।

सन् २०२० मा चिनियाँ रेल्वेले आफ्नो सञ्जाललाई ३३ प्रतिशतले थप विस्तार गर्ने योजना अघि सारेको थियो । देशका दुई लाखभन्दा बढी जनसङ्ख्या भएका सबै शहर, बजारलाई रेल्वेले जोड्ने यो योजनामा समेटिएको थियो । सन् २०३५ सम्ममा पाँच लाखभन्दा बढी जनसङ्ख्या भएका शहर, बजारलाई उच्च गतिको रेल्वेमार्फत जोडिने कार्यक्रम चिनियाँ रेल्वेको छ । सन् २०२० को जुलाई सम्ममा १० लाखभन्दा बढी जनसङ्ख्या रहेका ९० प्रतिशतभन्दा बढी शहरहरुमा तीव्र गतिको रेलसेवा उपलब्ध भइसकेको चिनियाँ रेल्वेले जनाएको छ । 

चीनको रेलसेवा लगभग पूरै सरकारी नियन्त्रणमा छ । एक तथ्याङ्कअनुसार सन् २०१९ मा चीनका झण्डै तीन अर्ब ६६ करोड मानिसले रेलबाट यात्रा गरेका थिए । यो चीनको कूल जनसङ्ख्याको अढाइ गुणाभन्दा बढी हो । अर्थात एक चिनियाँ नागरिकले एक वर्षमा अढाइ पटकभन्दा बढी रेलबाट यात्रा गरेको थियो । सोही वर्ष रेलबाट झण्डै चार अर्ब टन सामान ढुवानी भएको थियो । चीनको रेलसम्बन्धी दीर्घकालीन योजनामा सन् २०५० सम्ममा चीनको रेल सञ्जाल दुई लाख ७४ हजार किलोमिटर पुर्याउने लक्ष छ । सन् २०१५ को एकै वर्षमा चीनले नौ हजार किलोमिटर रेल निर्माण गरेर इतिहास नै रचेको थियो ।

अन्तर्राष्ट्रिय रेल नेटवर्क

चीनले आफ्नो देशभित्र रेल सञ्जाल तीव्ररुपमा विकास गरेसँगै छिमेकी देशसँग पनि रेल नेटवर्कले जोड्ने कार्यलाई निरन्तरता दिएको छ । हालसम्म चीनसँग कजाकस्तान, मङ्गोलिया, रसिया, हङकङ, भियतनाम र उत्तर कोरियासँग रेलसेवा सञ्चालनमा आइसकेको छ ।

लाओससँग भने यही डिसेम्बर महिनामा तीव्र गतिको रेलसेवा शुरु भएको छ । चीनको दक्षिणपूर्वको छिमेकी मुलुक लाओस भूपरिवेष्टित रहेकाले पनि लाओसको आर्थिक विकासका लागि यो रेलसेवा निकै महत्वपूर्ण छ । लाओस र चीनको युनान प्रान्तको राजधानी कुनमिङबीच झण्डै एक हजार किलोमिटर लामो रेल्वे लाइन निर्माण भएको छ । यो रेल्वे लाइनले लाओसको राजधानी भिएन्टिनलाई जोड्ने छ । यो आयोजना चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कै एक भाग रहेको चिनियाँ सञ्चार माध्यम सिजिटिएन टेलिभिजनले जनाएको छ । 

यो रेलसेवाको प्रारम्भसँगै लाओस अब भूपरिवेष्टित राष्ट्रबाट जमिनबाट एकअर्का मुलुकसँग जोडिएको मुलुक (ल्यान्डलिङ्क्ड) का रुपमा रुपान्तरण हुनेछ । लाओस सरकारले आफ्नो मुलुकलाई समृद्ध बनाउन र देशको अर्थतन्त्रलाई गतिशील बनाउन यस रेल्वे लाइनको निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ । करिब छ अर्ब डलरको यो परियोजनाका लागि चीनले करिब ७० प्रतिशत लगानी गरेको बताइएको छ । 

चीनले रसियाको सुदूर पूर्व, मकाउ, मध्य एसियाका किर्गिजस्तान र उज्वेकिस्तान तथा नेपालसँग रेलमार्गले जोड्ने योजना पनि बनाइरहेको छ । उता चीनले विश्वमै सबैभन्दा लामो दूरी (दोस्रो) को रेलसेवा पनि सञ्चालन गरिरहेको छ । यो रेल चीनको हार्बिनबाट शुरु भएर रसिया हुँदै युरोपको स्पेन पुग्दछ ।